नेपालबाट युद्धमा सहभागी हुन रसियन सेनामा जानेको लर्को, सरकार बेखबर

डिसी नेपाल
१६ असोज २०८० १३:३३

काठमाडौं। नेपालबाट रसियन सेनामा भर्ना भएर युद्ध लड्न जानेको दैनिकजसो रसियन दूतावासमा लर्को लाग्ने गरेको छ।

नेपालबाट भिजिट भिषामार्फत रसिया पुगेर त्यहाँको सेनामा भर्ना हुन जाने नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको छ।

अहिले रुस र युक्रेनबीच जारी युद्धका लागि रसियाले सैनिक सेवामा प्रवेश खुला गरेको छ। रसिया युद्धमा सरिक भएपछि नेपालबाट भिजिट भिषामार्फत युवाहरु जाने क्रम चलिरहेको छ। यद्यपि यसबारेमा जानकार भएर पनि सरकारले मौन रहने अघोषित नीति अख्तियार गरेको छ ।

उनीहरु आर्थिक लाभको प्रलोभनमा परी यहाँबाट भिजिट भिषामार्फत रसिया पुगेर त्यहाँको सेनामा भर्ना हुने गरेको पाइएको छ। त्यसका लागि नेपालस्थित रसियन दूतावास अघि युवाहरुले धाउँदै गरेको भीडभाडपूर्ण दृष्य देख्न सकिन्छ ।

रसियाले आफ्नो देशको सैन्य सेवामा भर्ना हुनेहरुका लागि आकर्षक सेवा सुविधा र युद्धमा सहभागी विदेशीलाई सहजै नागरिकता दिने प्रावधान लागू गरेपछि नेपालीहरु जोखिम मोलेर जान तयार भएका हुन्।

यस अघि पनि नेपालीहरु रसियन सेनामा भर्ना भएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। रसियन सेनामा भर्ना भएका नेपालीहरुको बारेमा रुसस्थित नेपाली दूतावासले कुनै चासो नदिएको चर्चा छ।

यस्तै कतिपय युद्धमा सहभागीहरु सम्पर्कविहीन भएको समेत बताइन्छ। त्यसबारेमा दूतावासले कुनै भूमिका निर्वाह गरेको छैन। त्यहाँस्थित नेपाली दूतावासले खोजबिनका लागि कुनै पहल नगरेको रुसी सेनामा भर्ना भएकाको परिवारजनले सञ्चार माध्यममा सार्वजनिक रुपमा गुनासो गरेका छन्।

रुसमा अध्ययनका लागि गएका नेपाली युवाहरु दुई देशबीच युद्ध सुरु भएपछि रसियन सेनामा भर्ना भएका थिए। कतिपय भने नेपालबाट दुबई हुँदै रुस पुगेर सेनामा भर्ना हुने गरेको समेत पाइएको छ।

रुस युक्रेन जारी युद्धमा रुसी सेनामा भर्ना भएर युद्धमा सहभागी हुन जाने हजारौं नेपालीको लर्को लागेको सार्वजनिक भइरहँदा नेपाल सरकार भने बेखबर देखिएको छ।

पैसाका लागि यस्तो जोखिमपूर्ण अवस्थामा अझै पनि जाने क्रम चलिरहँदा रोक्ने प्रयत्न गरिएको छैन भने गएका युवाहरु युद्धमा सहभागी भएको दृष्य सार्वजनिक हुँदा पनि सरकारले यसबारेमा कुनै चासो दिएको छैन।

केही समय अघि परराष्ट्र मन्त्रालयमार्फत सरकारले औपचारिक रुपमा तोकिएको बाहेक अन्य कुनै पनि देशका सेनामा भर्ना गराउने नीति नभएको भन्दै विज्ञप्ति जारी गरेको थियो।

तथापि नेपालमा रोजगारीको अभावले जोखिमपूर्ण युद्धमा सहभागी हुनका लागि भिजिट भिषामार्फत गएर सेनामा भर्ना हुन रसियन दूतावासमा लाम लाग्ने अवस्था रहेको एक युवा बताउँछन्। नौ दिनदेखि लाइन लाग्दा पनि आफ्नो पालो नआएको उनले गुनासो गरे।

उनका अनुसार त्यहाँ रसियन सेनामा रहेका अन्य नेपालीले आफूहरुको भिजिट भिषाका लागि अत्याश्यक होटेल बुकिङ र सेनामा भर्नाका लागि सहजीकरण गरेका छन्।

‘नेपालमा रोजगारीको अवस्था नहुँदा दैनिक जसो युवाहरु जाने क्रम बढिरहेको छ। मलगायत अन्य युवाहरु पनि रोजगारीका लागि जानुपर्ने बाध्यात्मक अवस्था छ’, नाम नबताउने शर्तमा ती युवाले भने, ‘यहाबाट भिजिट भिषामार्फत रसिया पुगेर सेनामा भर्ना हुने तयारी गरेका छौं । तैपनि पालो आउनै मुस्किल छ।’

उनीसँगैका आएका युवाहरु लगायत अन्य पनि दैनिक जसो विमानस्थलबाट सेटिङ मिलाएर हिँडेको उनको भनाइ छ। ती युवाका अनुसार भिषाका लागि सामान्य रुपमा लाइनमा बस्दा पालो नआउने भएकाले चाडो गराउन युवाहरुले सोर्सफोर्स लगाउनुपर्ने अवस्था छ।

परराष्ट्र भन्छ- भिजिट भिषामा जानेलाई रोक्ने प्रावधान छैन

यस बारेमा परराष्ट्र मन्त्रालयसँग जिज्ञासा राख्दा सरकारको आधिकारिक धारणा केही समय अघि विज्ञप्तिमार्फत सार्वजनिक गरेको जानकारी गराएको छ।

कुनै पनि युद्धरत देशको सेनामा नेपालीको भर्नाका लागि सरकारले अनुमति नदिएकोे उक्त विज्ञप्तिमा स्पष्ट रुपमा उल्लेख गरिएको छ।

‘विदेशी देशको सेनामा नेपाली नागरिक भर्नाको सम्बन्धमा परम्परागत रुपमा सम्झौता अन्तरगतका केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा विदेशी सेनामा भर्ना हुने अनुमति दिने सम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ’, परराष्ट्र मन्त्रालयले गत साउन १६ गते जारी विज्ञप्तिमा भनिएको छ।

सरकारले युद्धग्रस्त मुलुकका सेनामा भर्नाका लागि नजान आग्रह गर्दै यसको विपरित संलग्न भएमा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइ प्रति सजग रहन समेत विज्ञप्तिमार्फत सचेत गराएको थियो।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भिजिट भिषामार्फत गएर अन्य प्रयोजनका लागि काम गर्ने रोक्ने प्रावधान सरकारको नरहेको बताइन्। यसमा स्वयम् व्यक्ति नै जिम्मेवार बन्नुपर्ने उनको तर्क छ।

उनले डिसी नेपालसँग भनिन्, ‘सरकारले आधिकारिक रुपमा सेनामा भर्ना हुनका लागि जान अनुमति दिएको छैन। तर, भिजिट भिषामा गएर अन्य गतिविधमा संलग्न हुने कार्य परराष्ट्रको नियन्त्रणभन्दा बाहिरको विषय हो।’

उनले यस बारेमा सरकारले आधिकारिक रुपमा अनुमति नदिएपनि अन्य प्रयोजनका लागि गएकाहरु सेनामा भर्ना हुने गरेको सुन्नमा आएकाले सरकारले विज्ञप्तिमार्फत अनुमति नदिएको स्पष्ट पारेको बताइन् ।

रसियन सेनामा भर्नाका लागि अनुमति दिने सरकारको नीति विपरीत जान नहुने बताउँदै अन्य प्रयोजनका लागि जानेलाई रोक्न नमिल्ने उनले जनाइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *