भक्तपुरमा ४६ औं नेपालभाषा साहित्य तःमुँज्या सुरु, दुई दिन दुई रातसम्म चल्ने

डिसी नेपाल
७ कार्तिक २०८३ ८:१३

भक्तपुर। भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुँज्या (बृहत साहित्य सम्मेलन) तथा सांस्कृतिक ब्वज्या (कार्यक्रम) सुरु भएको छ। ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष आयोजना हुँदै आएको तःमुँज्या यसवर्ष भक्तपुर नगरपालिका–७ गोमारीको यातामा सुरु भएको हो।

सम्मेलनको उद्घाटन सांस्कृतिक गुरु एवं ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले गरेका हुन्। बिहान ११ बजेदेखि सुरु भएको सम्मेलन राति ११ बजेसम्म निरन्तर सञ्चालन हुने जनाइएको छ। दुई दिन र दुई रातसम्म चल्ने यो नेपालकै ऐतिहासिक साहित्य सम्मेलन भएको आयोजकको दाबी छ।

साहित्यिक गतिविधि र सांस्कृतिक प्रस्तुतिलाई छुट्टाछुट्टै चरणमा सञ्चालन गर्ने परम्पराअनुसार दिउँसो साहित्यिक र साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। यसवर्ष समसामयिक राजनीतिक तथा सामाजिक विषय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्यालाई साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिमार्फत अभिव्यक्त गरिएको आयोजकले जनाएको छ।

पहिलो चरणको साहित्यिक कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले मन्तव्य व्यक्त गरेका थिए। मन्तव्य व्यक्त गर्नेहरूमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपा केन्द्रीय सदस्य नन्दबहादुर शाही, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलस्रोतविद् रतन भण्डारी, डा. धनरत्न शाक्य, डा. सरोज धिताल, डा. तारालाल श्रेष्ठ, हरिहर तिमल्सिना, अभय श्रेष्ठ, र कृष्णकुमार वैद्यलगायत रहेका छन्।

सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत रचना वाचन गरिनुका साथै प्रतियोगितात्मक र अतिथि साहित्य प्रस्तुति समेटिएको थियो। साँझदेखि रातिसम्म प्रतियोगितात्मक नाटक, ख्यालि, नृत्य, गीतिनाटक र गीतलगायत सांस्कृतिक प्रस्तुतिहरू गरिएका थिए।

नेपाल संवत् ११०० (विसं २०३७) देखि निरन्तर आयोजना हुँदै आएको तःमुँज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति र सम्पदाको संरक्षणमा योगदान पुर्‍याउँदै आएको छ। प्रत्येक वर्ष भक्तपुरका फरक-फरक वडा तथा टोलमा आयोजना हुने यस कार्यक्रममा नेपालभाषाका अतिरिक्त अन्य भाषाका प्रस्तुतिहरूलाई पनि स्थान दिने गरिएको छ।

कार्यक्रममा कवि दामोदर सुवाल, दयालक्ष्मी जोशी तथा ‘मुकुण्डो’ नामक पुस्तकका लेखक वीणा जोशीलाई सम्मान गरिएको थियो। साथै, ‘तःमुँज्या’ नामक स्मारिकाको विमोचन पनि गरियो। पहिलो दिनको सभापतित्व इभा कंशाकारले गरेकी थिइन् भने दोस्रो दिन शनिबारको सभापति बसन्त महर्जन रहने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *