रवि लामिछानेले बालेन शाहलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन् : प्रभु साह
काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन्।
सरकार बनेको ६ महिना व्यतित नहुँदै रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई विस्थापित गर्नेगरि षड्यन्त्र गरिरहेको साहको टिप्पणी छ।
आज (शुक्रबार) रौटतहको गरुड़ामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारलाई अन्य दलबाट कुनै थ्रेट नभएपनि रास्वपाभित्रैबाट असफल बनाउनेगरि षड्यन्त्र रचिएको र छिट्टै त्यो जनताले थाहा पाउने बताएका हुन्।
रास्वपाका सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्व उपसभापति तथा वर्तमान सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल बनाउनेगरि मोर्चाबन्दी कसेको आजपा अध्यक्ष साहको दाबी छ।
उनले सभापति लामिछानेको यसअघि सम्पन्न भएको भारत भ्रमण, चीन भ्रमणको तयारी र अहिले पूनः धार्मिक यात्राको लागि भारत निस्किएको प्रसंगलाई पनि शंकाको दृष्टिले हेरिनुपर्ने उल्लेख गरेका छन्। अर्थमन्त्री वाग्लेसमेत भारत भ्रमणमा रहेको सन्दर्भ उल्लेख गर्दै साहले रास्वपाको कोर टिमको तारन्तारको भारत भ्रमणलाई सामान्य रुपमा हेरिन नहुने उनको भनाइ छ।
पूर्वमन्त्री साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोजेकोले त्यसप्रति सजग हुन सुझाव दिएका छन्। रास्वपाको पार्टी पङ्क्ति अहिले चुनावमुखी मात्रै भएको र देशको बारेमा उनीहरुलाई कुनै चिन्ता नभएको पनि उनको आरोप छ।
आजपा अध्यक्ष साहले भने,‘घण्टीहरुलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो, देश र जनताको बारेमा यिनीहरुलाई कुनै चिन्ता छैन। यस्तो अवसरवादी सोच भएकाहरुबाट सचेत हुनुपर्छ।’
रास्वपामा रवि लामिछानेसमर्थित घण्टी कार्यकर्ताहरु उग्र रहेको र सामाजिक सञ्जाल नै दुषित बनाएको साहको टिप्पणी छ। साहका अनुसार घण्टीका कार्यकर्ताहरुलाई सामाजिक सम्बन्धको महत्व थाहा नभएकोले सञ्जालमा फोहोरी गालीगलौज गर्ने गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment