मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बने पोलार्ड

डिसी नेपाल
७ कार्तिक २०८३ २१:३०
4
Shares

काठमाडौं। वेस्ट इन्डिजका पूर्व अलराउन्डर काइरन पोलार्ड इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

पाँच पटकको आईपीएल विजेता मुम्बईले शनिबार पोलार्डलाई सन् २०२७ को सिजनका लागि मुख्य प्रशिक्षक बनाएको घोषणा गरेको हो।

पोलार्डले यसअघि मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकका रूपमा काम गर्दै आएका थिए। उनले महेला जयवर्धनेको स्थान लिनेछन्। जयवर्धनेले मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेपछि मुम्बईले पोलार्डलाई नयाँ जिम्मेवारी दिएको हो।

पोलार्ड सन् २०१० देखि मुम्बई इन्डियन्ससँग आबद्ध छन्। उनले टोलीबाट १८९ खेल खेल्दै ३ हजार ४१२ रन बनाउनुका साथै ६९ विकेट लिएका थिए। उनको खेल जीवनमा मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आईपीएल उपाधि जितेको थियो।

मुख्य प्रशिक्षक नियुक्त भएपछि पोलार्डले मुम्बई इन्डियन्ससँगको सम्बन्ध आफ्नो खेल जीवनको महत्त्वपूर्ण हिस्सा रहेको बताएका छन्। उनले खेलाडी र प्रशिक्षकका रूपमा प्राप्त अनुभव उपयोग गर्दै टोलीको विरासतलाई अघि बढाउने र नयाँ प्रतिभालाई विकास गर्ने बताएका छन्।

मुम्बई इन्डियन्सले पछिल्लो पटक सन् २०२० मा आईपीएल उपाधि जितेको थियो। सन् २०२७ को सिजनमा टोलीलाई पुनः उपाधि दिलाउने जिम्मेवारी अब पोलार्डको काँधमा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *