फ्रान्समा चर्कियो आन्दोलन, हिंसा रोक्न देशभर ७० हजार प्रहरी परिचालन

डिसी नेपाल
७ कार्तिक २०८३ १४:१७

पेरिस। शनिबारका लागि तय भएका नयाँ प्रदर्शनहरूका अघि फ्रान्स सरकारले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ।

गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएकाले त्यस्ता हिंसात्मक गतिविधि दोहोरिन नदिन अधिकारीहरूले सुरक्षा तयारी तीव्र पारेका हुन्।

आन्तरिकमन्त्री लरेन नुनेजले शुक्रबार सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जालमार्फत हिंसा र लुटपाटका लागि आह्वान भइरहेकाले सरकारले सार्वजनिक व्यवस्था कायम राख्न कडा तयारी गरिरहेको बताए।

बढ्दो संकटका बीच राष्ट्रपति इम्यानुएल म्याक्रोंले वरिष्ठ मन्त्री तथा अधिकारीहरू सम्मिलित रक्षा परिषद्को बैठक बोलाएका थिए। सप्ताहान्तमा हुने प्रदर्शनलाई लक्षित गर्दै उनले सुरक्षाकर्मीहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।

खस्कँदो शैक्षिक वातावरणको विरोधमा माध्यमिक विद्यालयका विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन अहिले देशव्यापी बनेको छ। बढ्दो महँगी र जीवनयापनको कष्टले सर्वसाधारणमा बढाएको असन्तुष्टिले आन्दोलनलाई थप बल पुर्‍याएको छ।

प्रदर्शनले उग्र रूप लिएपछि म्याक्रोंले पहिलोपटक माध्यमिक विद्यालयका विद्यार्थी प्रतिनिधिहरूसँग भेटघाट गरेका छन्। तर, विद्यार्थी प्रतिनिधिहरूले आफ्ना माग सम्बोधन गर्ने ठोस प्रस्ताव सरकारले अघि नसारेको भन्दै सहपाठीहरूलाई प्रदर्शन जारी राख्न आग्रह गरेका छन्। अभियान समूह ‘हाई स्कुल रिन्युयल’का अध्यक्ष नाथानेल कोम्बारीले म्याक्रोंले भेटमा कुरा ध्यानपूर्वक सुने पनि ठोस निर्णय नआएकाले आफूहरू सन्तुष्ट नरहेको बताए। उनले सोमबार प्रधानमन्त्रीसँग हुने छलफलमा सरकारले ठोस प्रस्ताव ल्याउने अपेक्षा राख्दै दबाब कायमै राख्न आन्दोलन जारी राख्न आह्वान गरेका छन्।

यसैबीच, फ्रान्स सरकारले शान्तिपूर्ण प्रदर्शन र लुटपाट तथा तोडफोडका घटनालाई अलग राख्ने प्रयास गरिरहेको छ। न्यायमन्त्री जेराल्ड डार्मानिनका अनुसार हिंसासम्बन्धी घटनामा अदालतहरूले हालसम्म २१७ जनालाई जेल सजाय सुनाइसकेका छन्। सजाय पाउनेमध्ये करिब आधा पहिलोपटक अपराधमा संलग्न भएका व्यक्तिहरू रहेका छन्।

राष्ट्रपति म्याक्रोंले आपराधिक गतिविधिमा संलग्न हुनेहरूमाथि ‘अधिकतम कडाइ’ गर्न आह्वान गर्दै गत सप्ताहन्तको अशान्तिका क्रममा अतिवामपन्थी समूहहरूले गणतन्त्रलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाएका छन्।

यी प्रदर्शनले सन् २०२७ मा हुने फ्रान्सको राष्ट्रपति निर्वाचनअघि राजनीतिक तनावसमेत बढाएको छ। हालैको एक जनमत सर्वेक्षणअनुसार अतिदक्षिणपन्थी उम्मेदवार मरिन ले पेन अग्रस्थानमा रहेकी छन् र पछिल्ला घटनाक्रमले उनको राजनीतिक स्थिति थप बलियो बनाएको छ।

ले पेनको पार्टी ‘नेसनल र्याली’ले यसै सप्ताहन्तमा ओरलियँ सहरमा महाधिवेशन आयोजना गर्दैछ। सोही सहरमा प्रदर्शनको विरोधमा उत्रिने समूहहरूले पनि भेला आयोजना गर्ने योजना बनाएपछि स्थानीय अधिकारीहरूले सम्भावित झडपलाई लिएर चिन्ता व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *