पाटनको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका प्रदान
ललितपुर। ललितपुरको ऐतिहासिक पाटन दरबारको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका र जमारा प्रदान गरिएको छ।
बडादसैँको टीकाको चौथो दिन आज त्रयोदशीका दिन जीवित देवी कुमारीको हातबाट टीका र जमारा ग्रहण गरेसँगै पाटनको नेवारी समुदायमा औँपचारिक रूपमा दसैँको टीका विसर्जन भएको छ।
नेवारी समुदायमा बडादसैँको विजयादशमीका दिनसमेत जीवित देवी यल कुमारीको हातबाट टीका र जमरा ग्रहण गर्ने विशिष्ट धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ।
पाटनकी जीवित देवी कुमारीलाई तलेजु भवानीको प्रतीकका रूपमा श्रद्धा गरिन्छ। परम्पराअनुसार विजयादशमीका दिन सुरुमा कुमारी घरका मूल पुजारी, गुभाजु तथा स्थानीय नाइकेले कुमारीको हातबाट टीका र जमरा ग्रहण गर्ने गर्छन्। त्यसपछि सर्वसाधारण भक्तजनका लागि टीका ग्रहण गर्ने अवसर खुला गरिने परम्परा रहेको छ।
कुमारीको हातबाट टीका र जमरा ग्रहण गर्दा सुख, शान्ति, समृद्धि प्राप्त हुने तथा अनिष्टबाट रक्षा हुने धार्मिक जनविश्वास छ।
पाटनको यल कुमारीसँग जोडिएको यो परम्पराले उपत्यकाको मौलिक नेवार संस्कृति, धार्मिक आस्था र ऐतिहासिक सम्पदाको महत्त्वलाई उजागर गर्छ। पुस्तौँदेखि चलिआएको यस्तो परम्पराले स्थानीय सांस्कृतिक पहिचानलाई जीवन्त राख्न योगदान पुर्याउँदै आएको छ।
मल्लकालीन समयदेखि चल्दै आएको यो परम्परा पाटनको सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक पहिचानमध्ये एक हो। बडादसैँको महानवमी र विजयादशमीका दिन तलेजु भवानीको विशेष पूजा र शक्ति आर्जनको विधि सकिएपछि त्रयोदशीको दिन कुमारी देवगृहबाट बाहिर निस्केर आमनागरिकलाई आशिर्वाद दिने परम्परा रहेको छ।
ललितपुरको सांस्कृतिक गरिमालाई झल्काउने कुमारीको दर्शन पाउन र टीका थाप्न साँझ पाटन दरबार क्षेत्रमा दर्शनार्थीहरूको लामो लाम लागेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment