सुरुङमार्ग सञ्चालनपछि नागढुंगा सुनसान

डिसी नेपाल
७ कार्तिक २०८३ १८:२५

धादिङ।सधैंजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैंमा पनि प्रायः सुनसान बनेको छ।

देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सो क्षेत्र सुनसान बनेको हो। धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ सञ्चालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र नागढुङ्गा चेकपोष्ट क्षेत्र पनि अहिले शान्त बनेको छ।

विगतमा सधैं सवारी साधनको घुइँचो र कोलाहल हुने त्रिभुवन लोकमार्गअन्तर्गत पर्ने नागढुंगा क्षेत्रमा दशैं मान्न आउजाउ गर्ने यात्रुको चाप हुने समयमा पनि जामको सास्ती छैन। उकालो र घुम्ती सडकमा ठूलाठूला सवारीहरूबाट निस्किएको धुवाँ र सडकको धुलो, त्यसमाथि पनि जामका कारण घण्टौँसम्म गाडीमै रोकिनुपर्ने सास्तीको पूर्ण रूपमा अन्त्य भएको छ।

गाडीको हर्न र धुवाँ-धुलोले सधैँ गञ्जागोल भइरहने सडक शान्त भएसँगै यात्रुहरूले राहत र खुसीको अनुभूति गरेका छन्। नागढुंगा-नौबिसे सडकखण्डअन्तर्गत पिपलमोडको तल्लो घुम्तीमा स्कुटर रोकेर थकाइ मार्दै गरेकी चितवनकी कृष्टी पौडेलले भनिन्, “गाडीमा यात्रा गर्दा बान्ता हुने समस्याले अघिल्लो वर्षतिर यो बाटो सम्झेर दशैँमा घरै नजाऔँ जस्तो लाग्थ्यो, अहिले यो सजिलो छ भन्ने सुनेर स्कुटरमै आएँ, यति सजिलोसँग पार गर्न पाइन्छ भन्ने सोचेकै थिएन।”

विशेष गरी दशैं-तिहारजस्ता ठूला राष्ट्रिय पर्वका बेला राजधानी छाडेर बाहिरिने र भित्रिने हजारौं यात्रुहरू धुवाँ, धुलो र गर्मीमा गाडीभित्रै घण्टौँ कुर्न बाध्य हुन्थे। यसबाट बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई झन् बढी कष्ट हुने गरेको थियो। अहिले सुरुङमार्गबाट सवारी साधनहरू बिनाअवरोध सरर पार हुन थालेपछि चाडपर्वको समयमा हुने सकसपूर्ण यात्राबाट सर्वसाधारणले छुटकारा पाएका छन्।

पहिला नागढुङ्गाको उकालोमा बाध्यताले घण्टौं जाममा रोकिनुपर्ने सडकमा अहिले यात्रुहरू खुसीले दृश्य हेर्न रोकिने गरेका छन्। सुरुङमार्ग छिर्ने प्रवेशद्वारभन्दा माथिल्लो सडक (पिपलमोड खण्ड) मा मोटरसाइकल रोकेर सुरुङ प्रवेशद्वारको दृश्य नियालिरहेका रामजी वस्तीले विगत र वर्तमानको यात्रा अनुभव तुलना गर्दै भने, “दशैँमा घर जाँदा र फर्किदा युद्ध लडेजस्तो हुन्थ्यो। गाडीहरू सुरुङबाट जान थालेपछि यो वर्ष बाटोमा रोकिँदै, दृश्य हेर्दै आनन्दले हिँड्न पाइयो।”

सुरुङमार्गलाई पृष्ठभूमिमा राखेर तस्बिर कैद गरिरहेका अर्का युवा विष्णु श्रेष्ठले पनि पुरानो सास्ती र अहिलेको सहजताबारे सुनाउँदै भने, “पहिले जाम परेका कारण बाध्य भएर रोकिनुपर्थ्यो, अहिले सुरुङमार्ग र यहाँको दृश्य रमाइलो लागेर आफैँ रोकिन मन लाग्ने भएछ।”

त्यस्तै, सार्वजनिक सवारीसाधनमार्फत सुरुङमार्ग पार गरेर धादिङको खानीखोला पुगेकी तनहुँकी चेली मगरले सुरुङभित्रको सुखद यात्रा सम्झँदै भनिन्, “जाम र धुलो-धुवाँ सम्झेर दशैं-तिहारमा घर आउन-जान बर्सेनि सास्ती हुन्थ्यो। एक त घण्टौंको जाम, त्यसमाथि गाडीमा बान्ता भएर सासै फुस्केला जस्तो हुन्थ्यो। अहिले सुरुङबाट सरर एकैछिनमा कट्न पाइने भएछ। पहिलोचोटि सुरुङ छिरेर यहाँ आइपुग्दा सपना जस्तै लाग्यो।”

२.६८ किलोमिटर लम्बाइको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो। जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए। मुख्य सुरुङको ब्रेकथ्रू भने अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए भने बालेन्द्र शाह प्रधानमन्त्री भएका बेला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *