एकदिवसीय विश्वकप खेल्न नपाएको टेष्ट राष्ट्र जिम्बाब्वे टि–२० विश्वकपबाट पनि बाहिरिने खतरा

डिसी नेपाल
११ मंसिर २०८० १०:४३
2.3k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषदको स्थायी सदस्य र टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बाब्वे २०२४ को टि–२० विश्वकपका लागि पनि छनोट हुन नसक्ने खतरा बढेको छ । टि–२० विश्वकपको अफ्रिका छनोटमा नामिबिया र युगाण्डासँग हारेपछि जिम्बाब्वे विश्वकपमा छनोट नै हुन नसक्ने आशंका उच्च भएको छ ।

जिम्बाब्वे यसै वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा समेत छनोट हुन सकेको थिएन । एकदिवसीय विश्वकपका लागि केवल १० राष्ट्र छानिएका थिए । आइसीसीका स्थायी सदस्य मात्रै १२ टिम भएको अवस्थामा कम्तीमा २ टेष्ट राष्ट्र एकदिवसीय विश्वकपबाट बाहिरिने निश्चित थियो ।

तर, जिम्बाब्वेमै भएको छनोटमा टेष्ट राष्ट्र वेष्ट इण्डिजलाई हराउँदै नेदरल्याण्ड विश्वकप पुगेको थियो । टेष्ट मान्यता पाएका ३ टिम जिम्बाब्वे, वेष्ट इण्डिज र आयरल्याण्ड विश्वकपबाट बाहिरिएका थिए ।

टि–२० विश्वकपमा भने २० टिम खेल्न पाउनेछन् । धेरै टिम खेल्न पाउने भएको हुँदा टि–२० विश्वकपमा १२ टेष्ट राष्ट्रबाहेक कम्तीमा ८ अन्य एसोसिएट राष्ट्रले खेल्न पाउने अनुमान गरिएको थियो । तर, अब भने विश्वकपमा ९ एसोसिएट राष्ट्र छानिँदा टेष्ट राष्ट्र जिम्बाब्वे बाहिरिने खतरा बढेको छ ।

विश्वकप खेल्ने २० राष्ट्रमध्ये १८ राष्ट्र छनोट भइसकेका छन् । यसमा १२ टेष्ट राष्ट्रमध्ये जिम्बाब्वेबाहेक अरु सबै ११ राष्ट्र छनोट भइसकेका छन् । नेपाल पनि विश्वकपमा छनोट भइसकेको छ । अहिले भइरहेको अफ्रिका छनोटबाट २ राष्ट्र छानिएपछि विश्वकप खेल्ने २० टिमको समीकरण पूरा हुनेछ ।

विश्वकप अफ्रिका छनोटमा ३ खेलमा तनवटै जितेका नामिबिया र केन्या ६ अंकसहित नेट रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा छन् । हिजो जिम्बाब्वेलाई हराएको युगाण्डा ४ अंकसहित तेस्रो स्थानमा छ । ३ अंक जोडेको नाइजेरिया चौथो, २ अंकसहित जिम्बाब्वे पाँचौं, १ अंकसहित रुवान्डा छैटौं र ४ खेलमा सबै हारेको तान्जानिया सातौं स्थानमा छन् ।

३ खेल खेलिसकेको जिम्बाब्वेले अब ३ खेल खेल्न बाँकी छ । उसले बाँकी सबै खेल जितेको अवस्थामा बढीमा ८ अंक बनाउन सक्छ । उसले अब रुवान्डा, केन्या र नाइजेरियासँग खेल्न बाँकी छ । बाँकी मध्ये नाइजेरिया तुलनात्मक रुपमा बलियो देखिएको छ किनकि उसले ३ खेलमा सबै जितेको छ ।

नामिबिया र केन्या दुवैले बाँकी रहेका ३ खेलमध्ये एउटा–एउटा मात्र जितेमा उनीहरुको ८ अंक हुन्छ । यस्तोमा जिम्बाब्वेले विश्वकपमा पुग्न बाँकी तीनवटै खेल जितेर मात्र पुग्दैन । उसले नेट रनरेटमा पनि यी दुवैलाई उछिन्नुपर्नेछ ।

अहिले जिम्बाब्वेको नेट रनरेट पनि केन्या र नामिबियाको भन्दा धेरै कम छ । नामिबियाको नेट रनरेट २.८९६ छ । यस्तै केन्याको नेट रनरेट १.१८८ छ । नेट रनरेटमा तेस्रो स्थानको युगाण्डा पनि जिम्बाब्वेभन्दा अगाडि छ । युगाण्डाको नेट रनरेट ०.३९३ छ भने जिम्बाब्वेको ०.३८८ छ ।

नामिबियाले अब केन्या, तान्जानिया र नाइजेरियासँग खेल्न बाँकी छ । यस्तै केन्याले नामिबिया, युगाण्डा र जिम्बाब्वेसँग खेल्न बाँकी छ । यसबाहेक तेस्रो स्थानमा रहेको युगाण्डाले पनि ३ खेल खेल्न बाँकी छ र उसले सबै खेल जितेमा १० अंकसम्म बनाउन सक्छ । युगाण्डाले नाइजेरिया, केन्या र रुवाण्डासँग खेल्न बाँकी छ ।

३० वर्ष अगाडि नै सन् १९९२ मा टेस्ट मान्यता पाएको जिम्बाब्वे त्यसको ९ वर्षअघि १९८३ देखि नै लगातार विश्वकप खेल्दै आएको थियो । २०१९ को एकदिवसीय विश्वकपमा पहिलो पटक जिम्बाब्वे छनोट हुन सकेन । त्यसपछि २०२३ को विश्वकपमा पनि छनोट हुन सकेन ।

टि–२० विश्वकपमा पनि जिम्बाब्वे लगातार खेल्दै आएको थियो । २००९ को टि–२० विश्वकपमा उसले नाम फिर्ता लिएको थियो भने २०२१ को विश्वकपमा क्रिकेट बोर्डलाई आइसीसीले निलम्बन गरेका कारण खेल्न पाएको थिएन । त्यसपछि २०२२ को टि–२० विश्वकप पनि खेलेको जिम्बाब्बे अहिले छनोट हुन नसकेमा टि–२० विश्वकपमा छनोट हुन नसकेको पहिलो पटक हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.