बलिङमा एक ओभरमै ३० रन खर्चेका म्याक्सवेलले ब्याटिङमा तुफानी शतक बनाएर खेल जिते

डिसी नेपाल
१३ मंसिर २०८० १०:१९
1.8k
Shares

काठमाडौं । भारत र अस्ट्रेलियाबीचको तेस्रो टि–२० मा अस्ट्रेलिया विजयी भएको छ । भारतले दिएको २२३ रनको लक्ष्य पच्छ्याएको अस्ट्रेलियाले अन्तिम बलसम्म खेलेर २२५ रन बनाउँदै ५ विकेटले जितेको हो ।

यो खेलमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२२ रन बनाएको थियो । १९ ओभरसम्म १९२ रन बनाएको भारतले २० औं ओभरमा मात्रै ३० रन बनाएको थियो । २० औं ओभर ग्लेन म्याक्सवेलले बलिङ गरेका थिए ।

म्याक्सवेलले यो एउटा ओभर मात्र बलिङ गरेका थिए जसमा उनले यति धेरै खर्चिलो बलिङ गरे । पहिलो इनिङ सकिँदा खेल भारतले जित्न सक्ने देखिएको थियो । र, अस्ट्रेलियाले हारेमा हारको कारण म्याक्वेलको बलिङलाई नै ठानिने स्थिति थियो ।

तर यो रोमाञ्चक खेलमा ग्लेन म्याक्सवेलले अन्तिम बलमा चौका प्रहार गर्दै अस्ट्रेलियाको टोलीलाई जित दिलाए । खेलमा म्याक्सवेलको बलिङ निकै फ्लप रह्यो तर उनको ब्याटिङ सुपरहिट भयो र उनले ब्याटिङकै बलमा शतक बनाउँदै आफ्नो टोलीलाई जिताए ।

यस खेलको नायक बनेका ‘म्यान अफ द म्याच’ ग्लेन म्याक्सवेलले मात्र ४८ बलमा १०४ रन बनाए । उनलाई कप्तान म्याथ्यु वेडले राम्रो सपोर्ट गर्दै १६ बलमा २८ रन बनाए ।

अस्ट्रेलियाले अन्तिम दुई ओभरमा ४५ रन बनाएर भारतबाट खेल खोस्यो ।

भारतीय तिब्र गतिका बलर प्रसिद्ध कृष्णले आफ्नो कोटामा चार ओभरमा सर्वाधिक ६८ रन दिए । भारतका लागि सबैभन्दा सफल बलर रवि बिश्नोई रहे जसले चार ओभरमा ३२ रन दिएर तीन विकेट लिए ।

यसअघि भारतले ऋतुराज गायकवाडको अविजित १२३ रनको मद्दतमा भारतले २० ओभरमा तीन विकेट गुमाएर २२२ रन बनाएको थियो । कप्तान सूर्यकुमार यादवले ३९ र तिलक वर्माले अविजित ३१ रन बनाए ।

पाँच टी–२० खेलको यो सिरिजको चौथो खेल शुक्रबार छत्तीसगढको राजधानी रायपुरमा हुनेछ । फाइनल खेल आइतबार बैंगलोरमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.