विराट कोहलीले टी-२० र एकदिवसीय खेल्न अस्वीकार गरे, के सन्यास लिन लागेका हुन् ?

डिसी नेपाल
१३ मंसिर २०८० १६:४५
2.8k
Shares

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप २०२३ मा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय पूर्व कप्तान विराट कोहलीले ठूलो निर्णय लिएका छन् । उनले भारतले अब खेल्ने एकदिवसीय र टी-२० सिरिजमा खेल्न अस्वीकार गरेका छन् ।

अहिले भारतीय टोलीले सूर्यकुमार यादवको कप्तानीमा अष्ट्रेलियासँग ५ खेलको घरेलु टी–२० सिरिज खेलिरहेको छ । भारत पहिलो ३ खेलमा २–१ ले अगाडि छ । यो सिरिजमा विराट कोहलीलाई आराम दिइएको थियो । अब यो सिरिजपछि भारतीय टोली दक्षिण अफ्रिकाको भ्रमणमा जानुपर्नेछ ।

दक्षिण अफ्रिका भ्रमणमा भारतीय टोलीले पहिले ३ टी–२० खेलको शृङ्खला खेल्नुपर्नेछ । यसपछि ३ खेलको एकदिवसीय सिरिज हुनेछ । त्यसपछि अन्तिममा दुई टोलीबीच २ टेस्ट म्याचको शृङ्खला पनि खेलिनेछ ।

विराट कोहलीले दक्षिण अफ्रिका भ्रमणमा सेतो बल (एकदिवसीय र टी–२०) सिरिज खेल्न अस्वीकार गरेका छन् । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार कोहलीले सेतो बलबाट ब्रेक लिने निर्णय गरेका छन् । उनले यो जानकारी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई पनि दिएका छन् ।

अब कोहली कहिले ह्वाइट बल क्रिकेटमा फर्किनेछन् वा फर्किँदैनन् भन्ने बारे कुनै जानकारी छैन। रिपोर्टका अनुसार कोहलीले बीसीसीआई र चयन समितिलाई आफूले सेतो बल क्रिकेटका लागि कहिले उपलब्ध हुने भन्ने बारे पछि जानकारी दिने बताएका छन् । यस्तो अवस्थामा कोहलीले सेतो बल क्रिकेटबाट टाढा बस्न थालेको अनुमान गरिएको छ ।

विश्वकपमा भारतीय टोलीको जिम्मेवारी सम्हालेका रोहित शर्माको तर्फबाट अहिलेसम्म त्यस्तो कुनै बयान आएको छैन । तर उनले पनि अफ्रिका भ्रमणमा सेतो बलको सिरिज नखेल्ने विश्वास गरिएको छ । कोहली र रोहित दुवै टेस्ट सिरिजमा खेल्दैछन् ।

कोहली हाल लण्डनमा छुट्टी मनाउँदै छन् । रोहित शर्मा पनि लण्डनमै छन् । रोहितको कप्तानीमा भारतीय टोलीले विश्वकप २०२३ मा लगातार १० खेल जितेर नयाँ कीर्तिमान बनाएको थियो । यदि रोहित अफ्रिकाविरुद्ध सेतो बलको ढाँचाबाट पनि बाहिर रहे भने विकेटकिपर ब्याट्सम्यान केएल राहुललाई कप्तानी दिन सकिन्छ।

यसबाहेक जसप्रित बुमराह पनि कप्तानको दावेदार हुन् । दक्षिण अफ्रिका भ्रमणमा भारतीय टोलीले पहिले ३ खेलको टी-२० सिरिज खेल्नुपर्नेछ, जसको पहिलो खेल १० डिसेम्बरमा डर्बनमा हुनेछ। यसपछि १७, १९ र २१ डिसेम्बरमा तीन ओडीआई खेल हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.