रुसी तेलको जहाज १० दिनदेखि समुन्द्रमा भौंतारिँदै, भारतले किन दिइरहेको छैन अवतरणको अनुमति ?

डिसी नेपाल
१४ मंसिर २०८० १५:०५

काठमाडौं । रुसी तेलमा बढ्दो अमेरिकी कडाइले भारतका लागि अन्योलको अवस्था सिर्जना गरेको छ । ब्लुमबर्ग रिपोर्टका अनुसार कच्चा तेलले भरिएको रुसी ट्याङ्कर विगत १० दिनदेखि भारतीय तट नजिकै घुमिरहेको छ तर त्यसलाई भारतीय तटमा बस्न दिइएको छैन । ब्लुमबर्गले आफ्नो एक रिपोर्टमा भारतले अहिले ट्यांकरलाई भारतीय बन्दरगाहमा अवतरण गर्न दिने कि नदिने भन्नेमा विचार गरिरहेको जनाएको छ ।

प्रतिवेदनमा रुसी तेल ट्याङ्कर भारतीय तटबाट १ हजार ६ सय माइल टाढा रहेको बताइएको छ । रुसी तेल ट्याङ्कर एनएस सेन्चुरी दक्षिण कोरिया हुँदै भारतको बन्दरगाहमा रोकिने भनिए पनि पछिल्लो १० दिनदेखि समुन्द्रमा अलपत्र परेको छ । भारतको पानीजहाज महानिर्देशनालयले भारतमा कच्चा तेल ट्याङ्करबाट उतार्न दिने कि नदिने भन्ने निर्णय गर्न भारतीय अधिकारीले अहिले असमर्थ रहेको जानकारी दिएका छन् ।

रिपोर्टका अनुसार रुसी तेल ट्याङ्कर गुजरातको भाडिनार बन्दरगाहमा अवतरण गर्न लागेको थियो जहाँ भारतीय आयल कर्पोरेशनको केन्द्र रहेको थियो। यहाँ भारत र रुसको संयुक्त ऊर्जा कम्पनी नायरा इनर्जीको रिफाइनरी पनि छ । यद्यपि नायराका प्रवक्ताले सोमबार ब्लूमबर्गसँग कुरा गर्दै रुसी तेल ट्याङ्कर नायराको तेल प्रशोधन केन्द्रसँग सम्बन्धित नभएको स्पष्ट पारे।

रुसी ट्याङ्करहरूले भारतीय बन्दरगाहहरूमा कार्गो अफलोड गर्न सक्छन् कि सक्दैनन् भन्ने अलमल पश्चिमी देशहरूले रूसी तेलमा प्रतिबन्धहरू कडा गर्न थालेपछि सुरु भएको हो । अमेरिकाको नेतृत्वमा रहेका जी-७ देशहरूले गत हप्ता एनएस सेन्चुरीसहित पाँचवटा रुसी जहाजलाई प्रतिब्यारेल ६० डलरभन्दा माथिको तेल निर्यात गर्न प्रतिबन्ध लगाएका थिए।

यसमार्फत अमेरिकाले रुसी तेलबाट हुने आम्दानीमा प्रतिबन्ध लगाउने प्रयास गरिरहेको छ । रुस–युक्रेन युद्धलाई ध्यानमा राख्दै अमेरिकाले रुसी तेलको मूल्य निर्धारण गरेको छ, जसअनुसार रुसी तेल प्रति ब्यारेल ६० डलरभन्दा बढीमा बेच्न पाइँदैन । यद्यपि, यो मूल्य क्यापबाट रुसले खासै नोक्सान बेहोरेको छैन र पछिल्ला केही महिनादेखि रुसले मूल्य क्यापभन्दा माथि तेल बिक्री गरिरहेको खबर आएको छ । यसैलाई मध्यनजर गर्दै अमेरिकाले रुसी तेलमा नयाँ प्रतिबन्ध लगाएको छ ।

रुस–युक्रेन युद्धमा भारत तटस्थ रहे पनि युद्धको सुरुवातदेखि नै रुसबाट ठूलो मात्रामा तेल खरिद गर्दै आएको छ । रुसले भारतलाई सहुलियत दरमा तेल दिने प्रस्ताव गरेको थियो, जसको भारतीय रिफाइनर्सले ठूलो फाइदा उठाएका थिए ।

यहाँ अमेरिकासँग राम्रो सम्बन्ध राख्न भारतलाई दबाब पनि छ । रुसी ट्याङ्करलाई भारतीय बन्दरगाहमा अवतरण गर्न नदिनुको एउटा कारण यो पनि हुनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै, रुसले भारतसँग आफ्नो तेल चिनियाँ मुद्रा युआनमा तिर्न माग गर्दै आएको छ तर चीनसँगको सम्बन्धलाई हेर्दा युआनमा भुक्तानी गर्न भारत असहज भएको छ । समाचार एजेन्सी रोयटर्सले रिपोर्ट गरेअनुसार अक्टोबरसम्म, भारतमा कम्तीमा सातवटा तेल ढुवानीहरू आएका थिए जसको लागि भुक्तानी गरिएको थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *