टेस्ट राष्ट्र जिम्बाब्वे टि–२० विश्वकपबाट बाहिरियो, नामिबिया र युगाण्डा छानिएसँगै २० टिम पूरा
काठमाडौं । अर्को वर्ष २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने टि–२० विश्वकपमा टेस्ट राष्ट्र जिम्बाब्वे खेल्ने छैन । नामिबियामा भइरहेको विश्वकप अफ्रिका छनोटबाट नामिबिया र युगाण्डा छनोट भएसँगै विश्वकप समीकरण पूरा भएको छ ।
जिम्बाब्वे टि–२० विश्वकपमा छनोट हुन नसकेको यो पहिलो पटक हो । यसअघि २००९ को टि–२० विश्वकपमा आयोजक राष्ट्र बेलायतले आफ्ना खेलाडीलाई भिसा नदिने अवस्थामा जिम्बाब्वेले आफ्नो आइसीसीको स्थायी सदस्यता कायम रहने र आइसीसीबाट आर्थिक स्रोत पूरै पाउने शर्तमा प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । २०२१ मा प्रतिबन्धका कारण खेल्न पाएको थिएन । अरु सबै टि–२० विश्वकपमा जिम्बाब्वे खेलेको थियो ।
नामिबियामा जारी अफ्रिका छनोटमा ५ खेलमा सबै जितेर १० अंक बनाएको नामिबिया पहिल्यै छनोट भइसकेको छ । उसले एक खेल खेल्न बाँकी छ तर यो खेल हारे पनि उसलाई फरक पर्ने छैन । यस्तै सबै ६ खेल खेलेर ५ खेल जितेको युगाण्डा १० अंकसहित दोस्रो हुँदै विश्वकपमा छनोट भएको छ । ६ खेलमा ४ खेल मात्र जितेको जिम्बाब्वे ८ अंक बनाएर बाहिरिएको छ । जिम्बाब्वे छनोट भएका टिमहरु नामिबिया र युगाण्डा दुवैसँग हारेको थियो ।
३० वर्ष अगाडि नै सन् १९९२ मा टेस्ट मान्यता पाएको जिम्बाब्वे त्यसको ९ वर्षअघि १९८३ देखि नै लगातार विश्वकप खेल्दै आएको थियो । २०१९ को एकदिवसीय विश्वकपमा पहिलो पटक जिम्बाब्वे छनोट हुन सकेन । त्यसपछि २०२३ को एकदिवसीय विश्वकपमा पनि छनोट हुन सकेन ।
टि–२० विश्वकपमा पनि जिम्बाब्वे लगातार खेल्दै आएको थियो । २००९ को टि–२० विश्वकपमा उसले नाम फिर्ता लिएको थियो भने २०२१ को विश्वकपमा क्रिकेट बोर्डलाई आइसीसीले निलम्बन गरेका कारण खेल्न पाएको थिएन । त्यसपछि २०२२ को टि–२० विश्वकप पनि खेलेको जिम्बाब्बे अहिले टि–२० विश्वकपमा पहिलो पटक छनोट हुन नसकेको हो ।
विश्वकप समीकरण पूरा
यससँगै टि–२० विश्वकपमा लागि आवश्यक २० टिमको समीकरण पूरा भएको छ । अब अर्को वर्ष हुने टि–२० विश्वकपमा कूल १२ टेस्ट राष्ट्रमध्ये ११ राष्ट्र मात्रै खेल्नेछन् भने बाँकी ९ टिम एसोसिएट राष्ट्रहरु हुनेछन् । ९ एसोसिएट राष्ट्रमध्ये नेपाल पनि एक हो ।
२०२४ को टि–२० विश्वकपका लागि आइसीसीले बनाएको नियमअनुसार अघिल्लो वर्षको टि–२० विश्वकपमा शीर्ष ८ स्थानमा रहेका टोलीहरु सिधै छनोट भएका थिए । जसअनुसार अस्ट्रेलिया, इङल्याण्ड, भारत, नेदरल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सिधै छनोट भए ।
यी ८ टिम र आयोजक बाहेक आइसीसीको शीर्ष बरियतामा रहेका अन्य २ टिम पनि सिधै छनोट हुन पाउने नियमअनुसार अफगानिस्तान र बंगलादेश पनि छनोट भए । आयोजक सिधै छनोट हुने नियमअनुसार अमेरिका र वेष्ट इण्डिज पनि छनोट भएपछि एक वर्षअघि नै १२ टिमको छिनोफनो भइसकेको थियो ।
अन्य ८ टोली छनोट प्रतियोगिता जितेर आउनुपर्ने थियो । युरोप छनोटबाट २ टिम छानिने व्यवस्थाअनुसार आयरल्याण्ड र स्कटल्याण्ड छनोट भए । इस्ट एसिया प्यासिफिकका लागि छुट्याइएको एउटा कोटामा पपुआ न्यू गिनी छनोट भएर आयो ।
अमेरिकाका लागि छुट्याइएको एउटा कोटामा क्यानडा छानियो । यस्तै एसियाका लागि छुट्याइएको २ कोटामा नेपाल र ओमन छानिए । अफ्रिकाका लागि छुट्याइएको २ कोटामा अहिले नामिबिया र युगाण्डा छानिएका छन् ।







डिसी नेपाल








Facebook Comment