सांसद एकनाथ ढकालद्वारा श्रीलंकाका प्रधानमन्त्री र सभामुखसँग भेटवार्ता
कोलम्बो । सांसद एकनाथ ढकालले डिसेम्बर ७ मा श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्देनासँग श्रीलंकाको कोलम्बोमा भेट गरेका छन्। भेटमा सांसद ढकालले श्रीलङ्का सरकारले नेपालसँग विशेषगरी पर्यटन र साझा सांस्कृतिक मूल्यमान्यताका क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्न प्रस्ताव गरेका थिए ।
ढकालले प्रधानमन्त्री दिनेशलाई लुम्बिनीमा नयाँ खोलिएको अन्तर्राष्ट्रिय विमानस्थल (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल)बारे जानकारी दिँदै कोलम्बोदेखि लुम्बिनी सीधा उडानका लागि श्रीलंका सरकारको सहयोग मागेका थिए । श्रीलंकाका सभामुख महिन्दा यापा आबेवर्देनाको निमन्त्रणामा ढकाल श्रीलंकाको चार दिने मैत्रीपूर्ण भ्रमणमा छन् । श्रीलंकाका सभामुख आबेवर्देनासँगको शिष्टाचार भेटमा ढकालले नेपाल र श्रीलंकाबीचको संसदीय आदानप्रदानका बारेमा छलफल गरेका थिए ।
ढकालले श्रीलङ्काको संसद्को कमिटी रुम ०१ मा आयोजित “कार्यमा जवाफदेहीताः संसद् सदस्यहरूबीच पारदर्शिता र सुशासनको प्रवर्द्धन” शीर्षकमा आयोजित विशेष सम्मेलनलाई पनि सम्बोधन गरे । सम्मेलनलाई सम्बोधन गर्दै नेपालका सांसद तथा इन्टरनेशनल एसोसिएसन अफ पार्लियामेन्टेरियन्स फर पिस (आइएपीपी)का एशिया प्यासिफिक अध्यक्ष ढकालले लोकतान्त्रिक संस्थाको विश्वसनीयता नागरिकले निर्वाचित पदाधिकारीमाथिको विश्वासमा निर्भर रहेको बताए ।
उनले दक्षिण एसियालाई जीवन्त र जटिल दुवै उपक्षेत्रका रुपमा व्याख्या गर्दै दक्षिण एसिया प्रगति र चुनौतीको चौरमा रहेको बताए ।
सम्मेलनमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, सभामुख महिन्दा यापा आबेवर्देना र पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनाको उपस्थिति थियो । यस्तै श्रीलंका र एसिया प्यासिफिक क्षेत्रका सांसदहरू पनि उपस्थित थिए। कोलम्बोमा रहँदा सांसद ढकालले पूर्वराष्ट्रपति महिन्दा राजपक्ष र विपक्षी दलका नेता सजित प्रेमदासासँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।







डिसी नेपाल








Facebook Comment