धनगढीलाई हराउँदै ललितपुर सिटीले जित्यो एनएसएलको उपाधि

डिसी नेपाल
१४ पुष २०८० २०:०२
160
Shares

काठमाडौं । ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

१–० ले पछि परेको खेलमा कमब्याक गर्दै ललितपुर सिटीले खेल जितेको हो । ललितपुरको जितमा इमोह इजेकीएलले २ गोल गरेका थिए भने दिनेश हेम्जनले एक गोल गरेका थिए । ललितपुरका लागि पहिलो गोल इमोहले खेलको ४५औं मिनेटमा गरेका थिए । त्यसपछि खेलको ५१औं मिनेटमा दिनेशले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलको ५८औं मिनेटमा इमोहले आफ्नो दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ को अग्रता दिलाएका थिए ।

ललितपुरका इमोहले यस सिजनमा ६ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

यस अघि खेलको ३८औँ मिनेटमा धनगढीका अफीज ओलावालेले गोल गर्दै शुरुवाती अग्रता दिएका थिए भने खेलको ९८औं मिनेटमा अहमद हिजाजीले दोस्रो गोल गर्दै धनगढीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

यस खेलमा खेलको ८०औं मिनेटमा धनगढीका रिचार्ड ओसेलले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए ।

त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

पहिलो पटक फाइनलमा पुगेको ललितपुर सिटी एफसीले उपाधि चुमेको छ । यसअघि पहिलो सिजनमा ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग ३–० ले पराजित हुँदै बाहिरिएको थियो ।

२०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौँ रेजर्ससँग १–० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझाएको धनगढी यस पटक पनि उपविजेतामा सिमित भएको छ ।

एनएसएलको पहिलो सिजनको उपाधि जितेको काठमाडौँ रेजर्स भने यस सिजनमा इलिमिनेटरमा ललितपुरसँग पराजित व्यहोरेर बाहिरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.