राजनीतिमा ओरालो यात्रा पछि पुरानै घर फर्किएका नेताहरु

बाबुरामकाे पनि फर्किने सुरसार

डिसी नेपाल
२४ माघ २०८० ११:४०
816
Shares

काठमाडौं। नेपालको राजनीतिमा सैद्धान्तिक मतभेद राखेर अलगिएर अन्ततः पुरानै घरमा फर्किने नेताहरु बग्रेल्ती छन्।

पार्टीभित्र विभिन्न स्वार्थको टकराव हुँदा अलग हुने तर पार्टी विभाजनको औचित्य पुष्टि र स्थापित गर्न असमर्थ भएकाहरुको पुरानै घरमा फर्कने क्रम हालसम्मै चलिरहेको छ।

भर्खरै नेकपा(माओवादी)बाट विभाजित भएर नयाँ दार्शनिक मान्यतामा आधारित रहेर दल गठन गरेका बाबुराम भट्टराई पनि नयाँ दलले उल्लेख्य सफलता हासिल गर्न नसकेपछि पुरानै घर फर्किने सुरसार कस्दैछन्।

उनले जीवनको उर्जाशील समय व्यतित गरेको कम्युनिष्ट पार्टी र दर्शन नै परित्याग गर्दै वाम लोकतान्त्रिक चरित्रको नयाँ दल गठन गरेका थिए।

२०७२ को संविधान जारी भएपछि मुलुकको राजनीति नयाँ चरणमा प्रवेश गरेकाले परम्परागत कम्युनिष्ट पार्टीले नेतृत्व गर्न नसक्ने बताउँदै नयाँ शक्ति अभियान थालेका थिए।

नयाँ शक्ति, समाजवादी,जसपा हुँदै अहिले नेपाल समाजवादी पार्टी गठन गरेका उनले माओवादीसँग एकता प्रक्रियालाई अन्तिम रुप दिन तयारीमा छन्।

नेपाली राजनीतिमा बाबुराम जस्तै पुरानै घर फर्किएका नेताहरु अन्य दलमा पनि प्रश्स्तै छन्। उनीहरुले दल विभाजन पछि त्यसलाई उल्लेख्य गति दिन नसकेर पुरानै दलमा फर्किएका हुन्।

एकताका एमाले विभाजन गरेर माले पुनर्गठन गरेका वामदेव गौतम पनि पुरानै घरमा फर्किएका थिए। उनी २०५४ सालमा एमाले विभाजन गरेर नेकपा(माले) गठन गरेका थिए।

पार्टी विभाजनपछि २०५६ सालको आमनिर्वाचनमा लज्जास्पद मतपरिणाम हात लागेपछि पुरानै दलमा फर्किन बाध्य भएका थिए। अहिले उनी कार्यकर्ता बिनाको दल नेकपा(एकता राष्ट्रिय अभियान)को संयोजक छन्।

तत्कालीन २०५६ को निर्वाचनमा मुलुकभर एक सिट पनि जित्न नसकेको उनको दलले एमाले हराउन भने प्रमुख भूमिका खेलेको थियो। त्यसलगत्तै २०५८ मा एमालेमा फर्किएका थिए।

हालका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि २०५९ असोज ६ गते नेपाली कांग्रेस विभाजन गरेका थिए। उनले त्यसलगत्तै उनले २०५६ सालको आम निर्वाचन पछिको जननिर्वाचित संसद विघटन गर्न राजालाई सिफारिस गरेका थिए।

संसद विघटनमा भूमिका खेलेको भन्दै उनी आवद्ध दलले कारबाहीको संकेत गरेपछि नयाँ दल गठन गरेका थिए। उनलाई कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले कारबाही प्रक्रिया अघि बढाउन थालेपछि नयाँ दल गठन गरेका हुन्।

तर त्यसबखत मुलुकमा द्वन्द्व चलिरहेकाले चुनाव हुने अवस्था नहुँदा उनको विभाजित दल कांग्रेस प्रजातान्त्रिकले निर्वाचनको सामना गर्नु परेन। नयाँ दल स्थापित गर्न नसकेर अन्ततः उनी पनि २०६४ असोज ८ पुरानै दल कांग्रेसमा समाहित भएका थिए।

नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष रहेका हालका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि प्रधानमन्त्री समेत रहेका आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अलग भएका हुन्। उनी पनि २०५१ सालमा तत्कालीन दाहाल नेतृत्वको एकताकेन्द्रमा जनयुद्धको विषयमा मतभेद हुँदा अलग भएका थिए।

एकताकेन्द्रमा तत्कालीन दाहाल-मोहन वैद्य पक्षधर नेताहरुले जनयुद्ध गर्ने प्रस्ताव पार्टीमा पेश गरेपछि श्रेष्ठसहित निर्मल लामा, लिलामणि पोखरेल लगायतका नेताहरुले असहमति जाहेर गर्दै अलग भएका थिए।

त्यसपछि दाहालले आफ्नो नेतृत्वमा नेकपा(माओवादी) गठन गरेर जनयुद्ध सुरु गरेका थिए। त्यसयता दुई नेताहरु अलग कित्तामा रहे पनि पछि एकताबद्ध भएका हुन्।

माओवादीले दश वर्ष मुलुकमा सशस्त्र संघर्ष गरेर शान्तिप्रक्रियामा आएपछि नारायणकाजी समूह दाहाल नेतृत्वको माओवादीमा समाहित भएको हो।

यस्तै हाल माओवादी केन्द्रको महासचिव रहेका देव गुरुङ पनि आफ्नै अध्यक्ष दाहालसँग राजनीतिक रुपमा अलग भएका थिए। उनी दाहाल नेतृत्वको माओवादीबाट अलग भएर मोहन वैद्यको नेतृत्वमा विभाजनमा सरिक हुँदै नयाँ दल गठन गरेका थिए।

तथापि विभाजनको केही वर्षपछि पुरानै दलमा रामबहादुर थापा बादलको नेतृत्वमा फर्किएका हुन्। अहिले बादल तत्कालीन नेकपा विभाजन पछि एमालेमै रहेका छन् भने गुरुङ माओवादीको महासचिव छन्।

२०६९ मा विभाजित भएर २०७० को संविधानसभा निर्वाचन बहिष्कार गरेको उनको दलले २०७२ मा नयाँ संविधान जारी भएपछि दाहाल नेतृत्वको दलमा गुरूङसहितका नेताहरु समाहित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.