प्रदेश सरकारले डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छ : मन्त्री श्रेष्ठ

डिसी नेपाल
२६ माघ २०८० १७:४४
40
Shares

सिन्धुली। बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।

मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले शिक्षामा विशेष लगानी गरेर डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने वाध्यात्मक अवस्थाको केही वर्षभित्रै अन्त्य गर्ने बताएका हुन्। शुक्रबार सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. २ हायुटार स्थित श्री मावि मरिण हायुटारको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले स्वरोजगारमूलक प्राविधिक शिक्षामा पनि जोड दिने बताए। उनले गणतन्त्र प्राप्तिपछि पनि शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन गर्न नसकेको बताए। उनले शिक्षाले ज्ञान, सिप र संस्कृति एकसाथ सिकाउनु पर्ने भएपनि अहिलेको शिक्षाले यि तीनै कुरा राम्रो सँग सिकाउन नसकेको बताए।

मन्त्री श्रेष्ठले जीवनोपयोगी गुणस्तरीय शिक्षाको लागि शैक्षिक नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले विश्वमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक निर्माण गर्न राज्यले संविधानमा व्यवस्था भए अनुसार शिक्षामा कम्तिमा बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने बताए। उनले सबैभन्दा प्रतिस्पर्धी जनशक्ति शैक्षिक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए। उनले शिक्षामा गुणस्तर वृद्धि गर्न राज्य, शिक्षक, अभिभावक र विद्यार्थी सबै उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै यी ४ पक्षलाई खाटको ४ खुट्टाको संज्ञा दिए।

भौतिक पूर्वाधार गुणस्तरीय शिक्षाको एउटा अंश मात्रै रहेको भन्दै मन्त्री श्रेष्ठले भौतिक पूर्वाधार सँगसँगै शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक र अभिभावकहरुलाई अनुरोध गरे। उनले प्राविधिक शिक्षा भन्ने वित्तिकै डाक्टर, इन्जिनियर मात्रै भन्ने बुझाई समाजमा रहेको उल्लेख गर्दै प्राविधिक शिक्षा डाक्टर, इन्जिनियर मात्रै नभएर स्वरोजगार बनाउने शिक्षा पनि भएको बताए।

मन्त्री श्रेष्ठले लोकतन्त्र, गणतन्त्र र संघीयताको विषयलाई पाठ्यक्रममा राखेर पढाउनुपर्ने बताए। त्यसरी पढाउन नसक्दा अहिलेको नयाँ पुस्ताले राजनीतिक परिवर्तनको स्वामित्व ग्रहण नगर्ने खतरा बढिरहेको उनको भनाई छ। उनले प्रदेश सरकारले नयाँ पुस्तालाई हेरेर हरेक नीति, योजना, कार्यक्रमहरू बनाउँदै जाने प्रतिबद्धता समेत व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.