हिंसा मच्चाउनेहरू १८ वर्ष अघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय पाएनन् : ओली

डिसी नेपाल
१ फागुन २०८० १७:१०
48
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्गो लगाउनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा मानवअधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष ओलीले पीडितलाई अन्याय हुने गरि सङ्क्रमणकालीन न्यायको विषय टुङ्गिन नसक्ने बताएका हुन्। उनले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने पक्षमा नै नरहेको बताए। त्यसकै परिणाम १८ वर्षसम्म त्यसलाई नटुंग्याएर पीडित माथि अन्याय गरिएको उनले बताए।

हिंसा मच्चाउनेहरू १८ वर्ष अघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै ओलीलै अहिले टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा रहेको तर्क गरे। राजनीतिक हितका लागि अरू कुनै पनि मानवीय, संवैधानिक, कानुनी अधिकार उलङ्घन गर्ने एमालेको निति नरहेको उहाले प्रष्ट पारे। उनले एकतावद्ध भएर नेपाललाई शान्तिपूर्ण, विकासको बाटोमा मानव अधिकार सहितको राष्ट्रको रूपमा अघि बढाउनु पर्ने बताए।

त्यस्तै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताए। सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मूल्यमान्यता र मानव अधिकार आयोगको निर्देशनलाई ध्यानमा राखेर यसलाई निष्कर्षमा पुर्‍याउनुपर्ने उनको भनाइ छ। कोइरालाले जनताका लागि नभइ नेताहरुका लागि मात्रै लोकतन्त्र आएको महशुस भएको धारणा राखे।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले दोषीलाई कारवाही तथा पीडितलाई न्याय प्रदान गर्ने र अन्तर्राष्ट्रिय समुदाय समेत विश्वस्त हुने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई टुङ्गोमा पुराउनुपर्ने बताए। यससम्बन्धी विषयमा आयोगले दिएको सुझावहरुलाई गम्भीर रुपमा लिनुपर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.