उपत्यकावासीलाई बाह्रै महिना पानीको व्यवस्था गर्न सरकार प्रयत्नरत छ

डिसी नेपाल
१ फागुन २०८० २२:२३
24
Shares

काठमाडौं। खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौं उपत्यकावासीलाई बाह्रै महिना पानीको व्यवस्था गर्न सरकार प्रयत्नरत रहेको बताएका छन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १६औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले काठमाडौं उपत्यकावासीलाई बाह्रै महिना पानी उपलब्ध गराउन विभिन्न स्थानीय तहमा रहेका पानीको स्रोत खोजीको प्रयास भइरहेको बताए।

‘काठमाडौं उपत्यकामा दैनिक ५१ करोड लिटर पानीको माग छ । हाल १७ करोड लिटरमात्र उपलब्ध गराउन सकिरहेका छौँ’, मन्त्री यादवले भने। काठमाडौंवासीलाई स्वच्छ पानी उपलब्ध गराउनका लागि स्थानीय सरकारले स्थानीय स्तरमा पानीको स्रोत पहिचान तथा खोजी गरी संरक्षण गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।

खानेपानीमन्त्री यादवले उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनःसंरचना आवश्यक रहेको बताए। उनले मेलम्ची खानेपानी आयोजना ल्याउने प्रतिबद्धता जनाएको २२ वर्ष बितिसक्दा पनि पर्याप्त पानी उपत्याकामा ल्याउन नसकिएको बताए।

भौतिक संरचना, प्राविधिक जनशक्ति, आवश्यक उपकरणलगायत अभावका कारण मेलम्ची खानेपानी आयोजनाले निरन्तरता पाउन नसकेको मन्त्री यादवको भनाइ थियो। उनले जलवायु परिवर्तनको कारण मुलुकका हिमाल पग्लने, पानीका मुहान तथा खोला सुक्ने समस्या देखिएको बताए। जलवायु परिवर्तन र विभिन्न वातावरणीय प्रभावले खानेपानीको उपलब्धतामा चुनौती थपिँदै गएको उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.