फिरंगी नेता नेतृत्वमा पुग्दा रौतहट पछि पर्यो : प्रभु साह
रौतहट। पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले असक्षम फिरंगी नेताहरु नेतृत्वमा पुग्दा रौतहट समग्र विकासमा पछाडि परेको टिप्पणी गरेका छन। सधैं भरी बाहिर बसेर चुनावको समय मात्र रौतहट सम्झने नेताहरुको नेतृत्वका कारण जिल्ला पछि परेको उनले टिप्पणी गरेका हुन्।
गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा भन्सारको लुटकारी ४५ प्रतिशत पुरस्कारको व्यवस्था हटाउन पार्टीद्वारा आयोजित बृहत्त भेलालाई सम्बोधन गर्दै उनले उक्त विचार राखेका थिए। २०१५ सालदेखि देशको ठूला ठूला राजतन्त्रविरुद्धको आन्दोलनमा समेत रौतहटको भूमिका महत्वपूर्ण तथा अग्रणी रहेको उनको भनाइ छ ।
तर, पछिल्लो समय केही नेता व्यक्तिगत स्वार्थमा लागेको कारण जिल्लाको नाम बदनाम मात्र होइन कलंकित भइरहेको उनले बताए। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालप्रति आक्रोस व्यक्त गर्दै उनले देशको नेतृत्व गर्दा पनि आफ्नै गृह जिल्ला विकासमा पछाडि पर्नु फिरंगीपनको संज्ञा दिए ।
परापूर्वकालदेखि उर्वरभूमि मधेश उजाड हुनुमा मुख्यतः नेता नेपाल र उपेन्द्र यादव रहेको अध्यक्ष साहको आरोपमा छ । संघीयता भएदेखि नै उपेन्द्र यादवको पार्टीले मधेशको सत्ता चलाए पनि मधेश प्रदेश कहाँ पुग्यो सहजै अनुमान गर्न सकिने उनको भनाइ छ ।
नेता नेपाल र यादव सधैं सत्ता कुर्सीको लागि देश र जनतालाई धोका दिएको भन्दै उनले उनीहरुकै कारण मधेशमा बेरोजगारी एवं गरिबी समेत बढेको बताए।गौर हत्याकाण्डमा अहिलेसम्म पीडितले न्याय पाउन नसकेको बताउँदै उनीहरुलाई न्याय दिलाएरै छोड्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेता साहका साथै आमजनता पार्टीका मधेश प्रदेश ईन्चार्ज सुधीर यादव, जिल्ला इन्चार्ज त्रिभुवन साह लगायतले गौर हत्याकाण्डका दोषी कुनै पनि हालतमा उन्मुक्ति नपाउने चेतावनी दिएका थिए।







डिसी नेपाल








Facebook Comment