बागमती माथि नागमती राजनीति

72
Shares

नागमती बाँध आज सहर र सडकको बहसको बिषय भएको छ। सुन्ने बुझ्ने बागमती नदी किनार वरिपरि बसोबास गर्ने सहरबासीहरुलाई चिन्ता र पीडा भएको छ।

पशुपतिनाथलगायत नदी किनार भरिका मठ-मन्दिर, सत्तल सम्पदामा पूजा अर्चना ध्यान गर्ने भक्तजनलाई आक्रोशित तुल्याएको छ। किनभने नेपालबाट हिन्दूधर्मको आस्थाको केन्द्र पशुपतिनाथलाई बगाउने प्रायोजित पापी आयोजनाको रुपमा ब्याख्या गरिरहेका छन् हिन्दुधर्म गुरुहरुले नागमती बाँधलाई।

सबै क्षेत्रका विद्यार्थी, अनुसन्धानकर्ता, विद्वान, बिज्ञहरुले यो आयोजनालाई बिकासको नाममा रचिएको बिनासकाले बिपरीत बुद्धि भनेका छन्। प्रकृति दोहन र कब्जा गर्ने मुख्र्याइँको पराकाष्ठा भनेका छन्।

बृहद् स्टेकहोल्डरहरुले खतरनाक चलखेल र सेटिङ गरेर अर्बौं भ्रष्टाचार गर्ने काइते षड्यन्त्र हो भन्ने पूर्व प्रशासकहरुको दाबीमा धेरै सत्यता देखिन्छ।
प्रकृतिप्रेमी र संरक्षणकर्मीको गम्भीर चिन्ता र पीडाले सीमा नाघिसकेको छ।

उदेक लाग्ने कुरो

मेलम्ची आयोजनामा अन्धाधुन्ध लगानी गरेर प्रकृति मास्ने, लाङटाङ राष्ट्रिय निकुञ्जको इकोसिष्टम बिगार्ने र जानीजानी मानव निर्मित विपद् निम्त्याएर मेलम्ची बजार पुर्ने दाता एडीबी जीव हो कि निर्जीव?

मेलम्ची आयोजना प्रकृति बिरोधी, संरक्षण बिरोधी, जनविरोधी छ भनेर विश्लेषण र ज्ञान पाउँदा पाउँदै उसले किन २३५.३१ मिलियन युएस डलर लगानी गर्‍यो? दुनियालाई जगजाहेर छ। दर्जनौं उच्च कर्मचारीलाई जेल कोच्ने त्यो असफल आयोजनामा दर्जनौं प्रधानमन्त्री मन्त्री र दाता जेल कोचिनु पर्ने हो कि होइन?

कसरी त्यही दाता गाईको दुधले नुवाएर उद्देश्य र गन्तब्यविहीन अर्को झन् जनविरोधी वातावरण र संरक्षण बिरोधी झुर आयोजनामा त्यो भन्दा धेरै लगानी गर्न तम्तयार छ? उदेक लाग्दो कुरा!

करिब १ सय रुख काटेर इकोसिष्टम र जलाधार तहसनहस हुने गरी बाँध बनाउन प्रचलित निकुञ्ज ऐन र संरक्षणको मूल्य मान्यता बर्खीलाप हुन्छ भनेर निकुञ्जका चीफ वार्डेन र निकुञ्ज विभागका डिजिले किन अडान कस्न सकेनन्।

एक भारी दाउरा र एक डोको घाँसे जनतालाई दण्ड सजाय दिने अर्धन्यायिक निकुञ्ज प्रशासनले एक लाख रुख र बिसाल जमिन संरक्षण बिरोधी धराप कार्यलाई चढाउन के ले प्रेरित गर्‍यो?

अनैतिक दबाब प्रभावलाई पूर्व चीफ वार्डेन कमलजंग कुँवरले जस्तो ‘तिमीहरुको जागिर तिमीहरु नै खाउ’ भनेर किन विद्रोह गर्न सकेनन्। अनैतिक राजनीति र बिचौलिया व्यापारीका पछि बग्ने लत्रिने बिक्ने ती दहीचिउरे, पानीमरुवा, पामर कर्मचारीलाई पुराना बाघजस्ता ऐन कानूनमा अडिछाड्ने गौरवशाली प्रशासकहरुले कति धिक्कार्लान्?

प्रकृतिको व्यवस्थापन र संरक्षणमा लागि पर्ने, उनै प्रकृतिको काखमा छाप्रो हालेर ओत लिने र उनै प्रकृतिको नाम काम भजाइ खाने एनजिओ आइएनजिओहरु किन एकढिक्का र एकताबद्ध भई प्रकृति संरक्षणका हितमा दुई शब्द खर्चिन लरबराउँदछन्? र, ऐन कानून तथा वातावरण र संरक्षण बिरोधी हर्कतहरु टुलुटुलु हेरेर बस्दछन्? खोइ त्यहाँ नेतृत्वहरुको हुँदैन भन्ने संरक्षण प्रशिक्षण, प्रभाव, दबाब र इन्कार?

नागमती बाँध इस्यूमा छलफल, अन्तरक्रिया र बहस गर्न निमन्त्रणा गरेका मञ्चहरुमा सरोकारवाला मन्त्रालय, विभाग, संघ–संस्थाहरु किन उपस्थित हुँदैनन्, र भागेर हिँडिरहेका छन्? अर्को उदेक लाग्दो कुरो।

चाँदीको घेरा

नागमती बाँधमा चासो चिन्ता राख्ने वातावरण पत्रकार संघ संस्थाहरु, विश्व संरक्षण संघ संस्थाहरु, पूर्व प्रशासकहरु, पूर्व संरक्षणकर्मी वातावरण र संरक्षणविद् तथा विज्ञहरु एवं वातावरणका अभियन्ता साहसिला माननीयहरुलाई सलाम छ।

तपाईंहरुको त्यो हिम्मतिलो, जोसिलो र ओजिलो पवित्र महाअभियान जारी रहोस्। फैलियोस्। दनदनी आगो बलोस्; जसले यो आयोजना रच्ने बुन्ने पापी दुष्ट र भ्रष्टहरुलाई भष्म गरोस्। र, प्रकृति र संरक्षणप्रेमी समुदायहरुलाई उर्जा, धाप, राप् ताप् दियोस्।

चाँदीको यो घेराले सुन्दर अक्सिजनखानी प्रकृति, जलाधार बोकेको संवेदनशील धर्ती र पशुपतिनाथ विराज हिन्दूहरुको संस्कृतिको रक्षा कल्याण सम्मान भइछाड्ने छ भन्ने पंक्तिकारलाई आत्मभरोसा र विश्वास छ।

तर यो घेरामा ऐक्यवद्धता जनाउन र सगरमाथा जस्तो प्रतिरक्षा पर्खाल खडा गर्न सारा सहरबासी, देशवासी, बिदेशबासी नेपालीहरु एकढिक्का हुन जरुरी छ। आशा गरौं आवस्यक परे त्यस्तो फलामे पर्खाल खडा हुने छ।

प्रतिरक्षा रणनीति र पूर्व तयारी

इआइएको पहिलो तगारो, वातावरण महाशाखाको बहुआयामिक एवं गहन अध्ययन, विश्लेषण, पुनरावलोकन र पुनः मूल्यांकनले आयोजना निस्ताउने, तुहिने र अस्ताउने छ। महाशाखालाई प्रकृतिआशिष, पशुआशिष, पशुपतिआशिष लागोस् र हामीले जयजयकार गर्न पाउँ।

दोश्रो तगारो, वन तथा वातावरण सचिवको टेबल हो। त्यो स्वाभिमानी टेबल र कलम हल्लिने वाला छैन। दबाव, प्रभाव, धम्की, लोभका हकण्डाहरुले दाल गल्नेवाला छैन। दोश्रो विश्वास र भरोसाको केन्द्र।

माननीय वन तथा वाताबरण मन्त्रीको ध्यान ज्ञान मन फर्किन सक्दछ। हिम्मतको बाढी आउन सक्छ। संरक्षणभावको तेश्रो आँखा खुल्न सक्दछ। अथवा, कोही धर्मात्मा महात्माले त्यो बन्द आँखा जादू गरेर खोलिदिन सक्दछ। अथवा, प्रधानमन्त्री प्रोएक्टिभ र अग्रसर भएर यो चलखेलको आयोजना रद्दीको टोकरीमा फ्याँकिदिन सक्नेछन्। तेश्रो झिनो आशाको केन्द्र।

विश्व वाताबरण संरक्षणको मूल्य मान्यता अनिवार्य मान्नैपर्ने, विश्व सम्पदा पशुपतिनाथको सम्बेदनशीलता र महत्व जोगाउनै पर्ने बाध्यता बोकेको दाताले जनबिरोधी, प्रकृति र संस्कृति बिरोधी उद्देश्यहीन आयोजनामा त्यति ठूलो ऋण सहयोग लगानी नगर्ने निर्णय सार्बजनिक गर्नुपर्दछ।

किनभने त्यसले न राष्ट्रिय अर्थतन्त्रलाई उकास्दछ, न त बागमतीमा ढल मिसाउने नीति निर्माताहरुलाई व्यवहार परिवर्तनको आँखा खोल्न सिकाउँदछ। यो आयोजनाबाट शीघ्रातीशीघ्र हात झिकेर भ्रष्टहरुलाई लात् र जनतालाई साथ दिन जरुरी छ एडीबीले।

पैसाको आँखा हुँदैन र भ्रष्टाचारीको गति, मति, नीति हुँदैन भने झैं सबैजना तारेभिरको बाटो हिँडे भने गर्नुपर्ने गृहकार्य सबैले गरेर बस्न जरुरी छ। त्यो गृहकार्यको खाका यस्तो हुन सक्छ कि …

पहिलो, भ्रष्ट नेताहरुको भण्डाफोर गरेर प्रकृति र संस्कृतिको पक्षमा गोलबद्ध हुन सक्दछन् माननीय सांसदहरु। जुनसुकै दल बिचार किन नहोस् यो अराष्ट्रिय, असुरक्षित, प्रकृति संस्कृति धर्ती बिरोधी आयोजनालाई आगो लगाइदिनु पर्दछ राष्ट्रप्रेमी माननीयहरुले र तिनका दलहरुले।

दोश्रो, पशुपतिनाथको रक्षा कल्याण सम्मानमा गोलबद्ध हुनुपर्दछ समस्त भक्तजनहरु। छिटो र पहिला बढारिने बागमती नदी तटीय समुदायहरुले बिरोधको आगो ओकल्नु पर्दछ। काठमाडौं पछि बढारिने सर्लाही र भारतका जनताको आँखा कान ठाडो हुन जरुरी छ। पशुपतिनाथको बचाउमा उभिन भारतीय हिन्दू भक्तजनहरुले बिलम्ब गर्ने छैनन्।

तेश्रो, मिसन मिडियाहरु प्रकृति संस्कृति र धर्ती संरक्षणको नयाँ मिसनमा वातावरण पत्रकार समूहसंग ऐक्यबद्ध हुन जरुरी छ।

चौथो, प्रकृति र संस्कृतिलाई न्याय दिँदै आएको सर्वोच्च अदालत पशुपतिनाथको अन्तिम रक्षक हो। न्यायमूर्तिहरुबाट पशुपति र प्रकृतिले प्राकृतिक न्याय पाइ छाड्ने कुरामा कसैलाई सन्देह छैन।

पाचौं, यो आयोजनाले ढिलोचाँडो अकल्पनीय विपद् ल्याउने अवश्यम्भावी भएकोले राष्ट्रिय सुरक्षाको अंग रक्षा मन्त्रालय र नेपाली सेनाको अग्रीम ध्यानाकर्षण हुन जरुरी छ। राजधानीको शिरमा झुण्ड्याउन लागेको तरवार भन्दा पनि पिन थुतेर राखेको न्युक्लियर बमको सुरक्षा खतराको सम्बेदनशीलता र गाम्भीर्यता बुझ्न जरुरी छ।

यो अर्थहीन जलाशय निर्माण भैरहवा र पोखरा बिमानस्थल भन्दा धेरै गुना निकम्मा मात्र होइन, सुरक्षाका दृष्टिले प्रत्युत्पादक र दशौं लाख मान्छे बढार्ने मार्ने बम बराबरको खतरनाक बमको प्रायोजित एम्बुस हुने छ। जसको गहिरो बिश्लेषण र मूल्यांकन गरेर रक्षा मन्त्रालय राष्ट्रिय सुरक्षाको हितमा उभिन जरुरी छ।

आयोजनाकारहरुले कक्टेलमा भुलाउने र सुताउने अनि ढुकुटीको नगद उडाउने भ्रष्टाचारको खेललाई बेलैमा बुझ्न र रोक्न रक्षामन्त्रीले बिलम्ब गर्नु हुँदैन। प्रकृति संरक्षणको मर्म र धर्म बुझेका रक्षा सचिवले रक्षामन्त्रीलाई यो गम्भीर राष्ट्रिय सुरक्षाको गम्भीर मर्म बुझाई छाड्ने अपेक्षा राखिएको छ।

साथै, आन्तरिक सुरक्षा र विपद् नियन्त्रणको प्राथमिक जिम्मेवारी पाएको गृहमन्त्रालय एवं अन्तर्गतका अन्य सबै सुरक्षा निकायहरुको पनि ध्यानाकर्षण, गृहकार्य र बिरोध जरुरी छ। किनभने विपद्मा होमिनु भन्दा विपद्को बम बोकेर नसुत्नु र विपदै आउन नदिनु दूरगामी सुरक्षाको दूरदृष्टि हुनेछ।

आफ्नो मातृ संस्था नेपाली सेना र लामो समय सेवारत जंगी अड्डा स्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय यो अनिवार्य विपद् नियन्त्रण तथा राजधानी रक्षाका लागि अन्तिम अश्त्र भएर खडा हुने छन् भन्ने पंक्तिकारको बिश्वास छ।

निचोड

सबैको गृहकार्य, पूर्व तयारी र गहन जिम्मेवारी हुँदा पंक्तिकारको भागमा के त? मेरो दायित्व के होला? प्रष्ट पार्नु मेरो नैतिक जिम्मेवारी र धर्म हुन आउँदछ।

पहिलो प्रष्टोक्ति म विकास बिरोधी होइन। सायद सबैभन्दा धेरै सुशासन र बिकासप्रेमी आफूलाई लाग्नु अत्योक्ति चाहिँ होला। यो लगानी निकुञ्ज बाहिर रुख नकाटिकन बिपन्न जनताको आर्थिकस्तर उठाउन परिलक्षित हुनुपर्दछ भन्ने मेरो बिनम्र सुझाव हो। प्रकृतिमैत्री, जनमैत्री बिकल्पको खोजी र रोजी गरौं भन्ने जोडदार सिफारिस पनि हो।

सबै बिकल्पको ढोका गोल्चे ताल्चा लगाएर अन्धो भइ आयोजना हिँड्दछ र लागू भइ छाड्छ भने म श्रीमती साक्षी राखेर दाता, योजनाकार र सरकारलाई दिएको चुनौती पुनः दोहोर्‍याउन चाहान्छु- “जलाशयको शिलान्यास मान्छेको बलि दिएर गर। जीवन उत्सर्गको मेरो लिखित भर्पाइ बुझेर आयोजनाको जगमा मेरो बलि पूजा गर। कानूनी, सामाजिक, धार्मिक बाधा बन्धनले दिँदैन भने यो पापको बिरोधमा निर्माणस्थलमा म आजीवन आमरण अनसन बस्ने छु।”

प्रकृतिसमक्ष समर्पण गर्न सक्ने मसँग मेरो अधिकारमा भएको अमूल्य कुरा मेरो त्यही एउटा ज्यान हो।

प्रकृतिको जय जय जय होस् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *