यसरी सम्भव भयो त्रिविको उपकुलपति नियुक्ति
काठमाडौं। त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको ४९औँ दीक्षान्त समारोहमा सम्बोधन क्रममा क्षमता र दक्षताको आधारमा मात्रै उपकुलपति नियुक्ति गर्ने घोषणा गरेका थिए। उनले सोहीअनुसार त्रिविलाई सूचना जारी गर्न निर्देशन दिए।
खुला प्रतिस्धर्पाका आधारमा त्रिविका उपकुलपति नियुक्तिका लागि सूचना प्रकाशित गरिए पनि तीन वर्ष पदाधिकारी भएको हुनुपर्ने सर्त राखिएपछि प्रधानमन्त्री दाहालले पुनः सूचना प्रकाशित गर्न निर्देशन दिएका थिए। सोहीअनुसार नै नियुक्त प्रक्रिया अगाडि बढेको थियो।
त्रिविले कार्यविधि संशोधन गरेर जारी गरेको सूचनाको आधारमा उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो। दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए। प्रधानमन्त्री दाहालले सोहीअनुसार उपकुलपति नियुक्तिको आधार तयार गर्न कस्ता प्रावधान बनाउने भन्ने विषयमा विज्ञसँग छलफल गरेका थिए।
छलफलका आधारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति बनाइएको थियो। सिफारिस समितिले त्रिविको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहाल समक्ष चित्रबहादुर बुढाथोकी, प्रा डा केशरजङ्ग बराल र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो।
कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८(२) अनुसार आज प्रा डा केशरजङ्ग बराललाई उपकुलपतिमा नियुक्त गरेका छन्। प्रधानमन्त्री दाहालले तीन जनाको नाम सिफारिस गर्दा ‘मेरिटोक्रेसी’ पालना भए÷नभएको बारेमा अध्ययन गरेका थिए। त्यसलगतै शिक्षामन्त्री राई एवं शिक्षा सचिव सुरेश अधिकारीसँग छलफल गरेर बराललाई उपकुलपतिमा नियुक्ति गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।







डिसी नेपाल








Facebook Comment