६ वर्षको अनुभव सुनाउँदै राष्ट्रिय सभाका सांसद: ‘राष्ट्रियसभाको ओज र गरिमालाई उच्च राख्नू’
काठमाडौं। छ वर्षे कार्यअवधि पूरा गरेर राष्ट्रियसभाबाट विदा हुन लागेका सांसदहरुले राष्ट्रियसभालाई प्रभावकारी बनाउदै अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार बसेको बैठकमा फागुन २० गतेदेखि पदावधि सकिएर बिदाइ हुँदै गरेका सांसदहरुले आफ्ना अनुभव सुनाउदै राष्ट्रियसभाको ओज र गरिमालाई उच्च राख्न सुझाव समेत दिएका छन् । राष्ट्रियसभा सदस्य इन्दु कडरियाले सभाभित्र गैरसंसदीय अभ्यास अन्त्य हुनुपर्ने बताए।
उनले सदन जुनसुकै बेला बन्द, अवरोध गर्ने र अध्यादेशमार्फत संसद्को भूमिका खुम्चाउने क्रम अन्त्य हुनुपर्ने बताए । उनले राष्ट्रियस्तर र जनसरोकारका मुद्दा उठाउँदा जनताको प्रशंसाले आफूमा सकारात्मक ऊर्जा थपेको बताए।
त्यस्तै अर्का राष्ट्रियसभा सदस्य कुमार दसौदीले जनप्रतिनिधिले उठान गरेका जनसरोकारका मुद्दालाई सरकारले गम्भीरताका सथा लिन सकेमात्र सार्थकता हुने र सदनको गरिमा बढ्ने बताए ।
उनले दलीय राजनीतिमा दलीय स्वार्थका कुरा राख्नुपर्ने भन्दै दलभन्दा माथि उठेर जनताका साझा मुद्दाका कुरा गर्नुपर्ने बताए।
त्यस्तै राष्ट्रियसभा सदस्य डा खिमलाल देवकोटाले आफ्नो तीन वर्षको संसदीय अभ्यास, अनुभव र ज्ञानका लागि सदन विश्वविद्यालयसरह रहेको बताए । देवकोटाले संविधानको भावना र आशयअनुसार सदस्यको प्रतिनिधित्व हुनुपर्ने बताए।
त्यस्तै राष्ट्रियसभा सदस्य सदस्य दीपा गुरुङ, दिलकुमारी थापा रावल (पार्वती), नरपति लुवार, प्रकाश पन्थ लगाएतले संसद्प्रति सरकारलाई जवाफदेही र जिम्मेवार बनाउन अझ सशक्त भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।







डिसी नेपाल








Facebook Comment