राष्ट्रियसभा अध्यक्ष निर्वाचन : दाहाल र शर्माको उम्मेदवारी दर्ता

डिसी नेपाल
२८ फागुन २०८० ११:३१
96
Shares

काठमाडौं। ​राष्ट्रियसभाको अध्यक्ष पदका लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट फरक-फरक उम्मेदवारी दर्ता भएको छ।

सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन्।

दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी र समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका छन्।

त्यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह रहेका छन्।

उम्मेदवारी दर्ता गराउँदै सत्ता गठबन्धनतर्फका उम्मेदवार दाहालले आफूले दिएको योगदानको अनुसारको जिम्मेवारीका सन्दर्भमा उम्मेदवारी दिएको बताएका छन्। त्यस्तै उनले सामान्यतः प्रदेशको सह-इन्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष प्रचण्डसँग जोडेर हेरिने गरेको भन्दै आफूमाथि लागेको आरोप पहिलो नभएको जिकिर गरे।

त्यस्तै कांग्रेस उम्मेदवार शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताए। उनले आफू अध्यक्षमा निर्वाचित भएमा संसदीय प्रणाली र पदको गरिमा बढाउने ढंगबाट कार्यसम्पादन गर्ने बताए।

शर्माले पाँच दशक लामो राजनीतिक यात्रापछि राष्ट्रियसभामा दुई वर्षअघि प्रवेश गरेको र त्यस अनुभवका आधारमा पार्टीले अध्यक्षका उम्मेदवार बनाएको धारणा राखे। राष्ट्रियसभाको निर्वाचन मंगलबार हुँदैछ। राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित पहिलो दल रहेको छ।

एमाले १०, एकीकृत समाजवादी ८ र जसपा ३ गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन्। राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ। त्यस्तै कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् भने लोसपाको १ सांसद छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.