बुढासुब्बा गोल्डकपः एनआरटी फाइनलमा

डिसी नेपाल
१ चैत २०८० २२:२८
60
Shares

धरान। धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको फाइनलमा न्युरोड टिम (एनआरटी) प्रवेश गरेको छ। यहाँस्थित रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा काँकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै एनआरटीले फाइनलको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक बराबरी गोल गरेका थिए। झापाका खेलाडी फोडा फेफानेले खेलको ४३औँ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसको जवाफमा एनआरटीका सरोज तामाङले ४५औँ मिनेटमा गोल फर्काएर बराबरीमा पु¥याएका थिए। निर्धारित समयमा बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकरमा एनआरटीका लागि सरोज तामाङ, सनम लिम्बू, शिशिर लेखी, जय गुरुङ र मोहित गुरुङले गोल गरेका थिए भने झापाका लागि विमल घर्ती मगर, अभिशेक गुरुङ, दिवस उराव र देवेन्द्र तामाङले मात्र गोल गर्न सफल भए। झापाका विशाल घलानको प्रहार एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले रोकेका थिए।

आजको खेलको म्यान अफ द म्याच एनआरटीका सरोज तामाङ घोषित हुँदै नगद रू १० हजार प्राप्त गरे। शनिबार हुने फाइनल प्रतिस्पर्धामा एनआरटीले मोरङ फुटबल एसोसिएनसँग प्रतिस्पर्धा गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.