पर्वतमा चार करोडको लागतमा तटबन्ध निर्माण

डिसी नेपाल
१४ चैत २०८० ११:०३
320
Shares

पर्वत। पर्वतको जलजला गाउँपालिका–२ स्थित राम मन्दिर संरक्षण गर्न रु चार करोड ३२ लाख ७९ हजारको लागतमा तटबन्ध निर्माण गरिएको छ।

कालीगण्डकी र रघुगंगा नदीमा अघिल्लो वर्षायाममा आएको बाढीले कटानको उच्च जोखिममा परेको राम मन्दि संरक्षण गर्न पक्की तटबन्ध निर्माण गरिएको हो।

जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको रुपताल संरक्षण एकीकृत विकास परियोजनाले माछापुच्छ्रे निर्माण सेवासँग दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी गत वर्ष माघमा रु चार करोड ३२ लाख ७९ हजारमा ठेक्का सम्झौता गरेको थियो।

मन्दिर संरक्षण गर्न कालीगण्डकी नदी किनारमा एक सय ३८ मिटर लामो ‘कम्पोजिट’ पर्खाल निर्माण गरिएको छ। ठेक्का सम्झौता हुने वित्तिकै निर्माण कम्पनीले काम थालेको थियो। आगामी पुस ७ गतेसम्म ठेक्काको म्याद भए पनि १० महिनाअगावै योजना सम्पन्न भएको छ।

तीन वर्षअघि कालीगण्डकीमा आएको बाढीले कालीगण्डकी र रघुगङ्गा नदीको दोभानमा रहेको राम मन्दिरमा क्षति भएको थियो। नदी कटानले मन्दिरको धर्मशालासहितका संरचना बाढीले बगाएको थियो । बाढीका कारण मन्दिर, पुजारी निवास र गलेश्वरबाट राम मन्दिर जोड्ने झोलुंगे पुल जोखिममा परेको थियो।

रुपताल संरक्षण एकीकृत विकास परियोजनाका सबइन्जिनियर अशोक तिमिल्सिनाका अनुसार जमिनमुनि ५० सेन्टिमिटर चौडाइको दुईमिटर ५० सेन्टिमिटरको कटअफ निर्माण गरी तीन मिटर उचाइको चार मिटर फराकिलो पक्की कम्पोजिट पर्खाल निर्माण गरिएको छ । निर्माण भएको कम्पोजिट पर्खालमाथि आवश्यकतानुसार तीनदेखि चारमिटर उचाइसम्म ‘ग्याबिन’ जाली भरिएको छ ।

कालीगण्डकीको कटानले उच्च जोखिममा पर्वत जलजला गाउँपालिकास्थित वारीबेनी, म्याग्दीको बेनीबजार र गलेश्वर क्षेत्र आसपासका बस्तीलाई संरक्षण गर्न रुपताल संरक्षण एकीकृत विकास परियोजनाले एक वर्षअघिदेखि रु ४८ करोडको लागतमा विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.