चिसापानी घटना : पुलबाट हाम फाल्ने युवक अझै भेटिएनन्

डिसी नेपाल
१५ चैत २०८० १६:४६
192
Shares

घोडाघोडी। चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएका छैनन्। कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीले गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका थिए।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो। उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो। हालसम्म उनको केही पत्तो नलागेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराज डाँगीले बताए।

‘खोजी गर्न बुधबारदेखि रानीजमरा सिचाइँ योजनाको नहर नै बन्द गर्‍यौँ’, उनले भने– ‘फेला नपरेपछि गोताखोर टोली फर्किएको छ।’ बेपत्ता शाहीको खोजीका लागि आज पनि प्रहरी र स्थानीयको दुई टोली परिचालन गरिएको छ। दुवै टोलीलाई टीकापुरसम्म परिचालन गरिएको प्रहरी निरीक्षक डाँगीले बताए।

सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए। हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए। पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक डाँगीका अनुसार पुलबाट कर्णालीमा हाम फाल्ने सबैजनाले शरीरको माथिल्लो भागको लुगा फुकालेका थिए। प्रहरीले उनीहरूलाई रोक्न खोजे पनि सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानी बजारबाट पुलतर्फ निस्किएका थिए।

उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरी निरीक्षक डाँगीले बताए। उनका अनुसार सोधपुछका क्रममा नियन्त्रणमा लिएका एकजनाले त्यो दिन हाम फाल्ने कुनै पनि योजना नभएको बयान दिएका छन्।

‘फोटो खिच्न पुलतर्फ गएका हौँ, पुलमा पुग्दा एक जनाले हाम फाले, उसलाई देखेर अरु सबैले पालैपालो कर्णालीमा हाम फाल्यौँ’, पक्राउ परेकाहरुले सोधपुछका क्रममा भनेका प्रहरी निरीक्षक डाँगीले बताए। कर्णालीमा हाम फाल्नेहरु १७ देखि ४० वर्षसम्मका हुन्। उनीहरु होली खेल्दै चिसापानी बजार पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.