शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छ : मन्त्री चौधरी

डिसी नेपाल
१ वैशाख २०८१ ८:१३

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताएकी छन्।

स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटाले आज शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

‘अझैपनि हाम्रो शिक्षा गुणस्तरीय छैन। हाम्रा पाठ्यक्रमहरू गुणस्तरीय छैनन्। तर पनि डम्बर चेमजोङ जस्तो व्यक्तिहरू अमेरिकासम्म पुगेर पिएचडी गर्नु समाजका लागि निकै ठूलो कुरा हो’, मन्त्री चौधरीले भनिन्, ‘आधारभूत शिक्षा आधारभूत विद्यार्थीले सिक्ने ‘चाइल्ड सेन्ट्रिक मेथोलोजी हो कि, टिचर सेन्ट्रिक हो’ त्यसमा हामीले ध्यान दिन आवश्यक छ। ‘चाइल्ड सेन्ट्रिक मेथोलोजि’का सन्दर्भमा केही समय युनिसेफमार्फत काम गरेको स्मरण गर्दै उनले भनिन्, ‘अहिले पनि हाम्रा आधारभूत विद्यालयहरूमा पढाई हुने ‘कन्टेन्ट’हरू कमजोर रहेको छ। विद्यालयहरूको अवस्था पनि खराब छ। त्यसमा सुधार गर्नैपर्ने आवश्यकता छ।’

अहिले विद्यालय शिक्षा ऐन संशोधन र परिमार्जन गर्न बनेको विधेयक संसद्‍मा टेबल भएर संशोधनका लागि छलफल भइरहेको उल्लेख गर्दै उनले संघीय शिक्षा ऐन आउन बाँकी नै रहेको बताइन्। संघीय शिक्षा ऐन एकीकृत रुपमा तीन वटै तहको सरकारलाई समेट्ने गरी आउन आवश्यक रहेको समेत उनको भनाइ थियो।

अहिले शिक्षा स्थानीय तहलाई जिम्मा दिइएको अवस्था भए पनि त्यसलाई एकीकृत गरेर आगामी शिक्षा कस्तो बनाउने भन्ने हिसाबले शिक्षा ऐन आउनुपर्ने मन्त्री चौधरीको भनाइ थियो।

‘अहिले हाम्रो शिक्षा पाठ्यक्रम केन्द्रित भएर कस्तो विद्यार्थी उत्पादन गर्ने भन्ने कुरामा केन्द्रित नभएर यो दल वा त्यो दल भन्दै राजनीतिमा हामी धेरै केन्द्रित हुन्छाैं। तर त्यो गलत छ’, उनले भनिन्, ‘भविष्यमा देश बनाउने त अहिलेको बच्चाले हो। त्यसकारण अबको शिक्षा ऐनमा गुणस्तरीय पाठ्यक्रम देखि लिएर गुणस्तरीय शिक्षक, पढाउने विधि जस्ता कुराहरू समेटेर स्पष्ट रुपमा आउनुपर्छ। शिक्षालाई गुणस्तरीय बनाउने हिसाबले हामी सबैले काम गर्न आवश्यक छ।’

हरेक व्यक्तिमा बहु आयामिक क्षमता हुने गरेको भन्दै उहाँले हरेक व्यक्तिले पढ्ने, अध्ययन गर्ने, सिर्जना गर्ने फरक-फरक क्षमता रहने गरेको बताइन्। त्यसकारण व्यक्तिको क्षमतालाई उभारिदिने ठाउँ हुनुपर्ने मन्त्री चौधरीको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *