बागमतीमा संसदीय समिति सभापति चयन जेठ ४ सम्ममा टुंग्याउने

डिसी नेपाल
२२ वैशाख २०८१ ६:०३

मकवानपुर। आगामी जेठ ४ सम्ममा बागमती प्रदेश सभाको संसदीय समिति सभापति चयन टुंग्याउने सहमति भएको छ।

शुक्रबार सभामुख भुवनकुमार पाठकको आह्वानमा बसेको सर्वदलिय बैठकले सकेसम्म सहमतीमा नभए जेठ ४ गते निर्वाचन मार्फत समिति सभापति चयन गर्ने सहमति बनेको हो।

बैठकले सभापति चयनका लागि दलका प्रमुख सचेतकहरू सदस्य रहेको कार्यदललाई नै सहमति जुटाउन अनुमति दिने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए।

जेठको पहिलो हप्ता सम्ममा सर्वसम्मत रुपमा समिति सभापति चयन गर्ने मुख्यमन्त्री जम्कट्टेलको दाबी छ। यता, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दुईवटा समितिको सभापति पाउनुपर्ने अडान राखेको छ।

संसदीय दलका नेता बहादुर सिंह लामाले संसदको सबैभन्दा ठूलो दलको हैसियतले काँग्रेसले दुईवटा समितिको सभापति पाउनुपर्ने आफूहरुको बटमलाइन रहेको बताए।

दुई वटा समितिको नेतृत्व पाए मात्र सहमति हुन सक्ने नभए निर्वाचन प्रक्रियामा अघि बढ्ने उनको भनाइ छ। आउँदो जेठ ३ गतेसम्म सर्वसम्मतिमा समिति सभापति चयनको प्रयास गर्ने नभए जेठ ४ गते निर्वाचन प्रणालीबाट टुंग्याउने सहमति भएको उनले बताए।

बागमती प्रदेश सभामा प्रदेश मामिला, अर्थ तथा विकास, सार्वजनिक लेखा, शिक्षा, स्वास्थ्य तथा कृषि र उद्योग, पर्यटन तथा वातावरण समिति गरी ५ वटा समिति छन्। प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन दलहरु सहमत भएका छन्।

जेठ १ गते सरकारका प्राथमिकता र सिद्धान्त माथि छलफल गर्ने, १४ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ते र असार १ गते बजेट ल्याउने सहमति जुटेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए। आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाउने विषयमा पनि दलहरू सहमत भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *