पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण

डिसी नेपाल
२२ वैशाख २०८१ २०:४९

लेखनाथ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तहमा आफ्नो पार्टीबाट गण्डकी प्रदेशबाट निर्वाचित जनप्रतिनिधिलाई तीनदिने प्रशिक्षण सुरू गरेको छ।

शनिबारदेखि प्रशिक्षण कार्यक्रममा शुभारम्भ गर्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य थममाया थापाले एमाले नेतृत्वमा रहेका पालिकामा सुशासन र विकासलाई नमूनाका रूपमा अगाडि बढाउने उद्देश्यले प्रशिक्षण दिन थालिएको बताइन्। उनले एमालेले पारदर्शिता, जवाफदेहिता र सुशासनमा जोड दिँदै आएकाले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले त्यसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले पार्टी र जनप्रतिनिधिबीचको समन्वय र सहकार्यले मात्रै निर्धारित लक्ष्य प्रात्त गर्न सकिने भन्दै सुखी नेपाली समृद्ध नेपालको सपना पूरा गर्न प्रशिक्षण फलदायी हुने विश्वास व्यक्त गरे। एमाले पोलिटब्यूरो सदस्य एवं केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल, सचिव हर्कराज राई, केन्द्रीय स्कूल विभाग सदस्य रामशरण प्याकुरेलसहितका नेताहरूले प्रशिक्षणमा सहजीकरण गर्ने जानकारी दिइएको छ।

प्रशिक्षणमा गण्डकी प्रदेशका स्थानीय तहमा एमालेबाट निर्वाचित प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र प्रत्येक जिल्लाबाट एकजना वडाध्यक्षसहित पार्टीका जिल्ला कमिटी अध्यक्ष र इन्चार्ज गरी करिब एक सय जनाको सहभागिता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *