मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

डिसी नेपाल
२३ वैशाख २०८१ १३:०५

काठमाडौं। सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ।

सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगरेपछि मुख्यमन्त्री सोडारीको विश्वासको मत लिने विषय अन्योलमा परेको छ। एमाले अनिर्णित हुँदा शुक्रबार र शनिबार बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको छ।

यसैबीच सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। ओलीले सुदूरपश्चिम विश्वासको मतका लागि हतार नगर्न निर्देशन दिएका सुदूरपश्चिमका एमाले नेताहरुले बताएका छन्।

गएराति ओलीले रावलसहितका नेताहरुसँग छलफल गर्दै उपनिर्वाचनबाट विजयी भएका एमाले सांसदले शपथ समेत नलिएको भन्दै अहिले विश्वासको मतका लागि हतार नगर्न निर्देशन दिएको बताइएको छ।

ओली सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाएकोमा असन्तुष्ट रहेको बुझिएको छ। उनले यसअघि केबलक ४ सिट रहेको एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन अस्वीकार गरिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सोडारी मुख्यमन्त्री बनेका थिए।

एकीकृत समाजवादीले सुदूरपश्चिममा आफुलाई मुख्यमन्त्री नदिएमा केन्द्रमा गठबन्धन नै तोड्ने चेतावनी दिएपछि प्रधानमन्त्रीले पहल गरेर सोडारीलाई मुख्यमन्त्री बनाएका थिए।

अब सोडारीले विश्वासको मत लिन जेठ ५ गतेसम्मको समय रहेको छ। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी यही वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्र को सभामुखबाहेक १०, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *