पत्रकार महासंघको निर्वाचन 

युनियनलाई महासचिव दिएर निर्मलालाई सर्वसम्मत बनाउने प्रयास, युनियन भन्छ-हामी मान्दैनौं

डिसी नेपाल
२ जेठ २०८१ १४:०८

काठमाडौं। नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि निर्वाचन मिति तय भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख २१ मा उद्घाटन गरेको २७ औं महाधिवेशले नयाँ नेतृत्व चयन गर्न जेठ २६ गते निर्वाचन मिति तय गरेको हो।

यस पटक महासंघको निर्वाचनमा माओवादी सम्बद्ध प्रेस सेन्टर, एमालेको प्रेस चौतारी र कांग्रेसको प्रेस युनियनबीच सहमति गरेर सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गरिएको छ।

एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाललाई पनि सहमतिमा ल्याएर पद बाँडफाँटमा सहभागी गराउने गरि गृहकार्य थालिएको छ।

अन्य ससाना पेशागत संगठन र स्वतन्त्र पत्रकारहरुलाई पनि समेटेर सबैको सहभागितामा महासंघलाई साझा बनाउने पहल गरिए पनि दलीय पत्रकारहरुले नेतृत्वको आकांक्षा व्यक्त गर्न थालेका छन्।

यसअघि प्रेस चौतारीको तर्फबाट महासंघको अध्यक्षमा उम्मेदवारी दिएर पराजित भएकी निर्मला शर्मा यस पटक पुनः अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छिन्।

उनले दलीय समीकरण अनुसार चुनावी गठबन्धन एमाले निकट चौतारी र माओवादी निकट सेन्टरबीच हुने देखेर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेकी छिन्।

यसै साता प्रधानमन्त्रीसँग भएको भेटमा उनले आफू यसपाली अध्यक्ष बन्ने तयारीमा रहेको बताएकी थिइन्। भेटमा प्रधानमन्त्री प्रचण्डले महिला अध्यक्ष बन्नुपर्ने विषयमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले महासंघको निर्वाचनमा वाम पत्रकारहरुको गठबन्धन हुने र पहिलो महिला अध्यक्ष बनाउने बचनबद्धता दिइसकेका छन्।

शर्माले आफूले प्रधानमन्त्रीसँग भेट गरेको तर उम्मेदवारी दिने विषयमा छलफल नै नभएको बताइन्। उनले अघिल्लो निर्वाचनमा पनि उम्मेदवारी दिएकाले यसपाली पनि आकांक्षी रहेको सहर्स स्वीकार गरिन्।

उनले भनिन्, ‘यस अघि पनि उम्मेदवारी दिएकाले यसपाली पनि आकांक्षी हुनु स्वाभाविकै हो। तर संस्थागत रुपमा निर्णय र सहमति हुन बाँकी छ।’

यता एमाले र माओवादी निकट पत्रकार संगठनको चुनावी मोर्चाबन्दीबाट कांग्रेस निकट प्रेस युनियन त्रसित बनेको छ। कांग्रेस निकट युनियनलाई महासचिव दिएर महासंघको पदाधिकारी सर्वसम्म्मत चयन गर्ने तयारीमा वाम दल सम्बद्ध पत्रकार संगठन लागेका छन्।

यसपाली एमाले निकट चौतारीले अध्यक्ष, माओवादीले वरिष्ठ उपाध्यक्ष र कांग्रेसलाई महासचिव दिएर सर्वसम्मत बनाउने तयारी भइरहेको बताइएको छ। माओवादी र एमाले निकट पत्रकारहरुले चुनावी सहकार्यका लागि वार्ता समिति समेत गठन गरिसकेका छन्।

माओवादीको तर्फबाट वार्ताटोलीमा प्रेस सेन्टरका अध्यक्ष बिष्णु सापकोटा, महासंघका पूर्वअध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य र पत्रकार महासंघका पूर्वकोषाध्यक्ष खिलबहादुर भण्डारी रहेको तीन सदस्यीय समिति गठन गरिएको छ।

एमालेबाट प्रचार विभाग सचिव रहेका गगन बिष्ट, महासंघका पूर्वअध्यक्ष महेन्द्र बिष्ट र चौतारीका अध्यक्ष गणशे बस्नेत रहेको तीन सदस्यीय वार्ता टोली गठन गरि चुनावी सहकार्यका लागि छलफल चलिरहेको छ।

एमालेको तर्फबाट गठित वार्ता टोलीका सदस्य गगन बिष्टले सबैसँग छलफल गरि महासंघको नेतृत्व सर्वसम्मत गर्न वार्ता टोली गठन गरिएको बताउँछन्। उनले वार्ता टोली गठन गरिए पनि महासंघको सदस्यता विवाद यथावत रहेकाले कसैसँग छलफल हुन नसकेको जनाए।

उनले भने, ‘सबै दल सम्बद्ध पत्रकार संगठनसँग छलफल गरि सर्वसहमतिमा महासंघको नेतृत्व चयन गर्न वार्ता टोली गठन गरिए पनि सदस्यता बिवादले छलफल सुरु हुन सकेको छैन।’

द्विपक्षीय वार्ता टोलीसहित अन्यबीच पदाधिकारी लगायत अन्य पद बाँडफाँटका बारेमा छलफल गर्ने तयारीमा रहेको बिष्टले बताए।

माओवादी निकट प्रेस सेन्टरका अध्यक्ष सापकोटाले पनि अहिले औपचारिक रुपमा कसैसँग वार्ता टोलीले छलफल नगरेको बताउँछन्। उनले अनौपचारिक ढंगले कुराकानी चलिरहे पनि संस्थागतरुपमा कुनै निर्णय नभएको जनाए।

अध्यक्ष सापकोटाले भने, ‘पत्रकार महासंघलाई सबैको साझा चरित्रको संस्था बनाउने तवरले अनौपचारिक रुपमा छलफल भइरहेको छ। तर अन्य उम्मेदवारी र दाबेदारीको विषयमा कुनै दल सम्बद्ध पत्रकार संगठन र अन्यबीच सहमति भएको छैन।’

उनले संगठनको तर्फबाट उम्मेदवार र दाबेदारीको बारेमा अहिले कुनै ठोस छलफल नभएको प्रष्ट्याए। सबैको साझा चरित्रको संस्था बनाउन सबैलाई समेट्नुपर्ने आफूहरुको जोड रहेको उनको भनाइ छ।

यसैबीच महासचिव लिन तयार भए युनियनलाई पनि समेटेर सर्वसम्मत बनाउने गरि छलफल भइरहेको बताइए पनि युनियनका अध्यक्ष शिव लम्सालले आफूहरुको अध्यक्षमै दाबी रहने बताउँछन्।

उनले महासंघमा सदस्यता संख्याको आधारमा आफ्नो संगठन ठूलो भएकाले महासचिव स्वीकार्न नसकिने प्रष्ट्याए। पदाधिकारी चयनमा सहमति जुटाउन प्रेस युनियनले वार्ता टोली गठन गर्न लागेको उनले जानकारी दिए।

अध्यक्ष लम्सालले भने, ‘ठूलो संगठनको हैसियतले नेतृत्वमा हाम्रो दाबी रहन्छ। पत्रकार महासंघका पदाधिकारी सर्वसम्मत बनाउन अन्य दल सम्बद्ध पत्रकार संगठनसँग छलफल गर्न वार्ता टोली गठनको तयारीमा छौं।’

उनले अहिले पद बाँडफाँटका बारेमा कुनै छलफल नभएको स्पष्ट पारे। बुधबार बेलुकासम्म युनियनको तर्फबाट वार्ता टोली गठन गरेर औपचारिक छलफल सुरु गर्ने अध्यक्ष लम्सालको भनाइ छ।

पत्रकार महासंघको सदस्यता निर्धारण प्रक्रियामा पत्रकार संगठबीच व्याप्त बिवादले निर्वाचनको माहोल बन्न सकिरहेको छैन।पत्रकार संगठनले सदस्यता प्रक्रिया टुंगो लगाएर मात्रै निर्वाचनमा जानुपर्ने अडानमा छन्।

सदस्यता शुद्धीकरणको प्रक्रिया चलिरहेको र ठूलो संख्यामा सक्रिय पत्रकारितामा आबद्ध नभएकाहरुलाई कटौती गर्न लागिएको महासंघका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए। उनले नवीकरण, थप र कटौती गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाउँदै सर्वपक्षीय सहमति जुटिसकेको बताए।

अध्यक्ष पोख्रेलले भने, ‘करिब चार हजारको संख्यामा सक्रिय पत्रकारितामा नरहेकाहरुको सदस्यता कटौती गर्न लागिएको छ। सदस्यता नविकरण, कटौती र थपमा सबैको सहमति जुटाएर शुद्धीकरण हुँदैछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *