सर्कुलर नाघेर सिन्धुलीका माओवादी नेता बजेट माग्ने खेलमा, क्षेत्राधिकार मिचेर मुख्यमन्त्री फकाउँदै

डिसी नेपाल
१० जेठ २०८१ १३:३२

काठमाडौं। केही समय अघि वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले मधेश प्रदेशमा विकास बजेट माग्न घुस खुवाउनुपर्ने बाध्यता रहेको सार्वजनिक रुपमा बताएका थिए।

वीरगञ्जका मेयरले भनेझै नियमित प्रक्रियागत हिसाबले बजेट सम्बन्धित क्षेत्रमा नपर्ने भएकाले बजेट पार्न विभिन्न सरकारी निकाय धाउनुपर्ने बाध्यात्मक अवस्था छ।

माग गरे बमोजिम सजिलै बजेट विनियोजन नहुने भएकाले मन्त्री एवं अन्य उच्चपदस्थहरुलाई प्रभावमा पारेर बजेट ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइले दर्शाउँछ । अहिले नयाँ आर्थिक वर्ष २०८१/८२  सुरु भएसँगै आफ्नो क्षेत्रमा बजेट पार्न जनप्रतिनिधिहरुको दौडधुप चलेको छ।

त्यसका लागि विनियोजित हुने बजेटको केही हिस्सा सम्बन्धित निकायमा अग्रिम दिनुपर्ने दुरावस्था मेयर सिंहको अभिव्यक्ति बाट प्रष्टै हुन्छ । मेयर सिंहले भने बमोजिमको अवस्था अन्य प्रदेशमा समेत रहेको आशंका गरिएको छ।

अहिले जनप्रतिनिधिहरु विकासे बजेट माग गर्न आआफ्नै तवरको रस्साकस्सी बढाएका छन् । उनीहरुले बजेट विनियोजन गराएर आफ्नो क्षेत्रमा विकास निर्माणका काम अघि बढाउनेदेखि केही आर्थिक अपचलन गर्नेसम्मको दाउमा रहेको बुझ्न सकिन्छ।

समानुपातिक वितरण प्रणाली अनुरुप राज्यका निकायहरुले सम्बन्धित क्षेत्रमा बजेट विनियोजित गर्ने भए पनि विकास निर्माणको श्रेय आफूले लिने र त्यसबापत आर्थिक उपार्जन गर्ने दाउमा जनप्रतिनिधिहरु देखिन्छन्।

केही दिनयता विकास बजेट माग्न सिन्धुलीका माओवादी नेताहरुले यस्तै दृष्य देखाएका छन्। उनीहरुको पालैपालो बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलकोमा धाउने क्रम चलेको छ।

विकास बजेट मागेर त्यसको जस आफूले लिन सिन्धुलीबाट प्रतिनिधित्व गर्ने संघ र प्रदेशका सांसदलगायत स्थानीय जनप्रतिनिधिहरुको मुख्यमन्त्रीको कार्यालयमा दैनिकजसो लर्को देखिएको छ।

यही ६ गते माओवादी सिन्धुलीका इन्चार्ज बुद्धि माझी, संयोजक पाणिराज बोम्जन र सचिव विनोद विक र प्रदेश१(१)बाट निर्वाचित माओवादीका बागमती प्रदेश सांसद मातृका भट्टराईसहितको टोली मुख्यमन्त्रीको कार्यालय हेटौंडामा पुगेको थियो।

उनीहरुले सिन्धुलीका विभिन्न क्षेत्रबाट बजेट पार्न मुख्यमन्त्री जम्मकट्टेल र माओवादीकै सिन्धुली२(२)बाट निर्वाचित बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठलाई जिल्लाका विभिन्न योजनाका लागि बजेट माग गरेका  थिए।

त्यसको लगत्तै फेरि सिन्धुली-२ बाट निर्वाचित माओवादीका संघीय सांसद राजन दाहालसहितको टोली बजेट माग गर्न मुख्यमन्त्री जम्मकट्टेलाई भेट्न पुगेको थियो। यही बैशाख ९ गते दाहालसहितको टोलीले मुख्यमन्त्री जम्मकट्टेललाई भेटेर सिन्धुलीका विभन्नि क्षेत्रमा बजेट विनियोजन गर्न माग गरेका छन्।

मुलुकमा विकेन्द्रीकरणको नीति बमोजीम संघीय व्यवस्था लागू गरिए पनि संघका सांसद दाहालले प्रदेशमा पुगेर बजेट विनियोजन गर्न माग गरेपछि संघीय सांसदले प्रदेशमा हस्तक्षेप गरेको भन्दै उनको आलोचना भइरहेको छ।

माओवादीको बागमती प्रदेश सरकार सञ्चालन संयन्त्र समिति र प्रदेशसभाको बैठकले प्रदेश सांसदहरुले उत्तरदायित्व वहन गर्नेगरी बजेट संस्थागत रुपमा पार्टी मातहत लैजान परिपत्रसमेत जारी गरेको छ।

माओवादी बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले जारी गरेको परिपत्रमा प्रदेश सरकारले विनियोजन गर्ने बजेट सम्बन्धित जिल्लाका प्रदेश सांसदहरुमार्फत योजना तर्जुमा गर्नुपर्ने उल्लेख छ ।

बागमती प्रदेशका अध्यक्षद्वारा जारी परिपत्रमा स्थानीय तहदेखि क्षेत्रगत बजेटका लागि जिल्ला पार्टीले योजना केन्द्रित गरेर प्रदेश सांसदले त्यसको उत्तरदायित्व वहन गर्दै बजेट विनियोजन कार्यदलमा पेश गर्नुपर्ने बताइएको छ।

संघीय सांसद र  नेताहरुलाई व्यक्तिगत तवरले प्रदेश सरकारको बजेट माग गर्ने कुनै अधिकार माओवादीको परिपत्रमा  दिइएको छैन।

तर बागमतीका मुख्यमन्त्री कट्टेलले पार्टीको परिपत्र विपरित संघीय सांसद दाहाललाई बोलाएर बजेट विनियोजनमा परामर्श लिएका छन् भने दाहालले पनि आफ्नो संसदीय क्षेत्राधिकार र पार्टीको परिपत्र विपरित प्रदेशमा गएर बजेटको माग गरेका छन्।

हेर्नुहोस् परिपत्र –

संघीय संरचना अनुसार केन्द्र, प्रदेश र स्थानीयतहलाई आआफ्नै अधिकार प्रत्यायोजन गरिएको छ । सोही अनुसार बजेट वितरण गरिने व्यवस्था छ ।

प्रतिनिधिसभाका सांसद दाहालले भने आफू पार्टीगत रुपमा नभएर जनप्रतिनिधिको हैसियतमा नौवटै गाउँपालिकाका प्रमुख उपप्रमुखसहित बजेट माग गर्न गएको बताए।  सिन्धुलीका जनताको सांसद भएकाले बजेट मागको लागि आफू जानु स्वाभाविक भएको उनले दाबी गरे।

‘म भन्दा अघि पार्टीका साथीहरु जानु भएको रहेछ । मलाई २ नं क्षेत्रका जनता र त्यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुको आग्रहमा ९ वटै पालिकाको टोलीसहित गएको हुँ।’, उनले भने, ‘म जनताको सांसद भएकाले मेरो क्षेत्रका विकास निर्माणमा बजेट विनियोजनको माग गर्नु अन्यथा होइन।’

उनले आफू बागमती प्रदेशसभाको संस्थापक सांसदको हैसियतले प्रदेशका मुख्यमन्त्रीलाई आफनोे जिल्लाको विकास निर्माणको माग लिएर भेटेको बताए। यसलाई अस्वाभाविक रुपमा लिन नमिल्ने सांसद दाहालले जिकिर गरे।

मुख्यमन्त्री जम्मकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले प्रदेशका सांसदहरुले बजेट माग गर्नु स्वाभाविक भएको बताउँछन्। तर संघीय सांसदहरुले भने प्रदेशमा आएर बजेट विनियोजनको माग गर्न नमिल्ने बताए।

यद्यपि सांसद दाहाल भने अन्य स्थानीय नेता कार्यकर्ताको आग्रहमा पार्टी नेताको हैसियतमा आएको भन्दै ढकालले बचाउ गरे।उनले संघीय सांसदको क्षेत्राधिकार भन्दा बाहिर गएर बजेट माग गर्न नमिल्ने बताउँदै सांसद दाहाल स्थानीय जनप्रतिनिधिहरुको साथमा आएको जनाए।

‘स्थानीय नेता कार्यकर्ताको आग्रहमा डेलिगेशनका लागि आउनु भएको हो।’, उनले भने, ‘उहाँलाई त्यहाँका स्थानीय जनप्रतिनिधि र पार्टी कार्यकर्ताकोे आग्रह पछि पार्टीको नेता भएकाले त्यसैको हैसियतमा आउनु स्वाभाविकै हो।’

यता माओवादी सिन्धुलीका स्थानीय नेताहरुले  जिल्ला पार्टीले संस्थगतरुपमा योजना तर्जुमा गर्ने पार्टीको सर्कुलर  विपरित पालैपालो बजेट माग गर्न मुख्यमन्त्रीकोमा पुगेपछि आफूले जस र आर्थिक लाभका लागि होडबाजी चलेको बताउँछन्। एक सिन्धुलीकै स्थानीय माओवादी नेता यस्तो दृष्यले अचम्मित तुल्याएको बताउँछन्।

नाम उल्लेख नगर्ने शर्तमा सिन्धुलीका ती माओवादी नेता भन्छन्, ‘विकास बजेट आफ्नो क्षेत्रमा पार्न हानथाप गर्ने अनि त्यहीबाट आर्थिक आम्दानी गर्ने दाउबाहेक यो दौडधुप अरु केहीका लागि होइन।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *