अमेरिकी सांसदको दौडमा बलियो बन्दै एड्रियन पोखरेल, बन्दुक संस्कृति हटाउने एजेण्डाको सर्वत्र प्रशंशा

डिसी नेपाल
२४ जेठ २०८१ ११:२५

काठमाडौं । अमेरिकी संसदको निर्वाचनमा उम्मेदवार बनेका नेपाली मूलका एड्रियन पोखरेल आफ्नो क्षेत्रका मतदाताहरुबीच लोकप्रिय बन्दै गइरहेका छन् । पछिल्लो समय उनले अमेरिकामा बढ्दो बन्दुक संस्कृति हटाउन आफ्नै बन्दुक स्थानीय प्रहरीमा बुझाएपछि उनको अभियानले लोकप्रियता पाउँदै गएको छ ।

सुनसरीको धरानमा जन्मिएका एड्रियन आशिष पोखरेल अमेरिकाको भर्जिनिया राज्यको १० औं निर्वाचन क्षेत्रबाट अमेरिकी कंग्रेसको लागि सांसदको उम्मेदवार बनेका हुन् । उनी राष्ट्रपति जो बाइडेनको पार्टी डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार छन् । आगामी जुन १८ मा प्राइमरीको चुनाव हुँदैछ।

पोखरेल अमेरिकी सेनामा १४ वर्षसम्म काम गरेका आर्मी भेट्रान हुन् । अमेरिकी सेनाको क्याप्टेन भएर अवकाश पाएका उनले विश्वकै सबैभन्दा शक्तिशाली गुप्तचर एजेन्सी मानिने अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआइए) मा ६ वर्षसम्म काम गरेका छन् । सीआइएमा काम गर्ने उनी पहिलो नेपाली हुन् ।

रोजगारी सिर्जना, मानसिक स्वास्थ्य सेवा सुधार गर्ने, स्वास्थ्य सेवाको लागत घटाउने, महिलाको प्रजनन अधिकार, श्रमिक संघहरूको अधिकार र लोकतन्त्रको सुरक्षालाई प्रमुख एजेण्डा बनाएका पोखरेलले पछिल्लो समय अमेरिकामा बढ्दो बन्दुक संस्कृतिलाई हटाउने कुरालाई पनि प्राथमिकतामा राखेका छन् । र, उनको यो एजेण्डा नेपाली मूलका अमेरिकीहरुमाझ मात्र नभइ रैथाने अमेरिकीहरुमा पनि लोकप्रिय बन्दै गइरहेको छ ।

अवकाशप्राप्त सैनिक र गुप्तचर अधिकारी भएकोले पोखरेलले अमेरिकी कानुनअनुसार केही बन्दुकहरु आफूसँग राख्न पाउँछन् । यही अधिकारअनुसार उनले केही बन्दुक राखेका थिए । तर, पछिल्लो समय अमेरिकामा सर्वसाधारणले बन्दुक बोक्ने र सामान्य झगडामा पनि गोली चलाएर धेरैको हत्या गर्ने घटनाहरु बढ्दै गएपछि उनले बन्दुक संस्कृति हटाउने अभियान थालेका हुन् । यसका लागि उनले आफैंबाट सुरुवात गर्दै आफूले वैधानिक रुपमै राखेका बन्दुकहरु स्थानीय प्रहरीमा बुझाएका हुन् ।

पोखरेल सैन्य खुफिया प्रबन्धन, नेतृत्व, साइबर, नेटवर्क प्रशासन, सुरक्षा विशेषज्ञ हुनुका साथै इथिकल ह्याकर समेत हुन् । उनले व्यवसाय प्रशासन, वित्त, खुफिया अध्ययन र रणनीतिक सुरक्षा अध्ययन गरेका छन् । धरानको शिक्षा सदन माविबाट विद्यालय शिक्षा र काठमाडौंको शंकरदेव क्याम्पसबाट उच्च शिक्षा अध्ययन गरेपछि थप अध्ययनका लागि उनी अमेरिका गएका थिए ।

पोखरेलले अमेरिकाको ह्युस्टन विश्वविद्यालयको जेसिन्टो कम्युनिटी कलेज टेक्सासबाट बिजनेस एडमिनिस्ट्रेसन र फाइनान्समा स्नातक गरेका छन् । उनले अमेरिकन मिलिट्री युनिभर्सिटीबाट इन्टेलिजेन्स स्टडिजमा मास्टर्स डिग्री हासिल गरेका छन् । पोखरेलले नेशनल अमेरिकन युनिभर्सिटीबाट रणनीतिक सुरक्षामा विद्यावारिधी (पीएचडी) गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *