विश्वकप क्रिकेटः पाकिस्तानमाथि भारतको रोमाञ्चक जीत
काठमाडौं। आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई पराजित गरेको छ। भारतले पाकिस्तानमाथि ६ रनको जीत दर्ता गरेको हो। भारतले चिर प्रतिद्वन्दी पाकिस्तान माथि जित निकाल्दै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनालाई ठूलो चोट पुर्याएको छ।
पहिलो खेलमा अमेरिका विरुद्ध हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था आएको छ। भारतले सबै खेल जितेको खण्डमा अमेरिकाको आयरल्याण्ड विरुद्धको हारले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना भने जिवितै राख्ने छ।
हार पछि पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना न्युन बनेको छ। यो जित पछि भारतको दुइ खेलमा ४ अंक भएको छ। अमेरिकाको पनि २ खेलमा ४ अंक छ। क्यानाडाको २ खेलमा २ अंक रहेको छ भने पाकिस्तान २ खेलमा र आयरल्याण्ड १ खेलमा शुन्य अंकमा छन्।
न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो। एक समय ७२-२ को अवस्थामा रहेको पाकिस्तानले अन्तिम आठ ओभरमा खेल गुमाउन पुग्यो।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाएपनि जित भने दिलाउन सकेनन्। इमाद वासिमले १५ रन बनाए भने बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए।
भारतको जितमा जस्प्रित बुम्राहले ३ तथा हार्दिक पन्ड्याले २ विकेट लिए । अर्शद्विप सिंह र अक्षर पटेलको नाममा समान १-१ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन जोडेको थियो। भारतका लागि रिशभ पन्तले ३१ बलमा ६ चौका सहित सर्वाधिक ४२ रन बनाएका थिए । यस्तै अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।
पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले ३-३ विकेट लिएका थिए भने मोहम्मद आमिरले २ विकेट लिए। १ विकेट शाहिन शाह अफ्रिदीको नाममा रह्यो।







डिसी नेपाल







Facebook Comment