हनुमन्ते बस्तीमा पस्यो, उच्च सतर्कता अपनाउन आह्वान

डिसी नेपाल
५ साउन २०८१ २०:५८
368
Shares

भक्तपुर। भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि उर्लेर आएको हनुमन्ते नदी भक्तपुरको बस्तीमा पसेको छ। काभ्रेको नाला, भक्तपुरको ताथलीलगायत क्षेत्रमा परेको भीषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो।

भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह जाने सडक नै अवरुद्ध भएको छ। बाढी नदीबाट माथि आएर सडकबाट खोला बग्न थालेको छ । आसपासका घर एवं बस्तीमा पानी पसेको छ।

भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राम मन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्रमा बाढी बस्तीमा पसेर डुबानमा परेको छ। राम मन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको हो।

हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनाराका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो र हनुमन्ते नदीको सहायक नदी एवं खोलाहरुमा समेत बाढीको बहाव बढेको छ। बाढी पसेपछि जगाती, च्यामासिंह, हनुमानघाट, बाराहीस्थानको जनजीवन प्रभावित भएको छ।

भक्तपुरको विभिन्न वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले आज साँझ हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहमा पुगेको नदी तटीय क्षेत्रमा बाढीको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन सन्देश एवं सूचना जारी गरेको छ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई उच्च तयारीका साथ राखिएको जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *