मर्मतका क्रममा ‘सी–चेक’ उडानमा थियो दुर्घटनाग्रस्त विमान, के हो विमानको ‘सी–चेक’ ?
काठमाडौं । काठमाडौंबाट पोखराको लागि उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको विमान नियमित उडानमा नभएको खुलासा भएको छ । एयरलाइन्सका अनुसार यो विमान सी–चेक उडानका क्रममा पोखरा जाँदै थियो ।
विमानको सी–चेक एक प्रकारको उन्नत किसिमको परीक्षण हो जसमा विमानका धेरै प्रणालीहरु र अवस्थाहरुको बारेमा विस्तृत जाँच गरिन्छ । विमान व्यवसायिक उडानका लागि तयार छ वा छैन भनेर जाँच गर्न यो परीक्षण गरिन्छ र यो धेरै विस्तृत किसिमको जाँच हुन्छ ।
यो परीक्षणमा विमानको इन्जिन, बडी, भित्री र बाहिरी प्रणाली, ल्याण्डिङ गियर लगायत विमानको बाहिरी र भित्री प्रणालीको विस्तृत परीक्षण हुन्छ । विमानमा संचारका लागि पाइलटले प्रयोग गर्ने उपकरणहरु लगायत यात्रुहरुका लागि राखिने अक्सिजन आपूर्ति प्रणालीलगायत अन्य कुराहरुको पनि सी–चेकमा परीक्षण हुन्छ ।
विमानको सबै प्रणालीको परीक्षण गरिसकेपछि मात्रै विमान व्यवसायिक उडानको लागि योग्य छ वा छैन भन्ने निर्धारण हुन्छ । विमानको सी–चेक सामान्यतया १८ देखि २४ महिनामा वा निश्चित घण्टा उडान गरिसकेपछि गरिन्छ । सी–चेकमा एकदेखि २ हप्तासम्म समय लाग्छ ।
विमानको परीक्षण गर्नका लागि ‘ए–चेक’, ‘बी–चेक’ र ‘डी–चेक’ नामका अन्य परीक्षण पनि हुन्छन् तर ‘सी–चेक’ ती परीक्षणभन्दा पनि विस्तृत र व्यापक हुन्छ । ‘सी–चेक’मा ए, बी, र डी चेकमा गरीने सबै परीक्षणहरु पनि समावेश हुन्छन् । यो विमानको सबैभन्दा विस्तृत र उन्नत परीक्षण हो ।
‘सी–चेक’ परीक्षण सकिएपछि लतत्तै ‘सी–चेक’ उडान हुन्छ । काडमाडौंमा दुर्घटना भएको सौर्य एयरको उडान परीक्षणपछि यही उडानको क्रममा थियो । यो उडानमा सामान्यतया चालकदल बाहेक विमानको परीक्षणर मर्मतका विशेषज्ञ इन्जिनियर र प्राविधिकहरु हुन्छन् । उनीहरुले उडानको क्रममा विमानको सबै प्रणालीले ठिकसँग काम गरिरहेको छ कि छैन भन्ने निगरानी गर्छन् ।
सी चेकमा विशेषज्ञहरुले विमानको इन्जिन, हाइड्रोलिक, इलेक्ट्रिकल सिस्टम, एभियोनिक्स र फ्लाइट कन्ट्रोलको निगरानी गर्छन् । ‘सी–चेक’ उडानपछि विशेषज्ञहरुले यसको परीक्षणको पूर्ण विवरणसहितको रिपोर्ट तयार गर्छन् । आवश्यक परेमा देशको उड्डयन नियामक (नेपालको हकमा नेपाल नागरिक उड्डयन प्राधिकरण) ले सी चेक रिपोर्ट माग गरेर अध्ययन गर्न सक्छ ।
दुर्घटनाग्रस्त विमानका पनि चालकदलका सदस्यबाहेक विशेषज्ञ इन्जिनियरहरु रहेको र यसमा अन्य सर्वसाधारण यात्रु नरहेको बताइएको छ । यो व्यवसायिक उडान थिएन । यो दुर्घटनाग्रस्त विमानको ‘सी–चेक’ परीक्षणको अन्तिम चरण थियो । यो परीक्षण सफल भएको भए यो विमान नियामकको अनुमतिमा पुनः व्यवसायिक उडानमा फर्किन पाउने थियो ।







डिसी नेपाल








Facebook Comment