ऋणमा डुबेका मजदुर राजुले जमिन खनेर निकाले बहुमूल्य हीरा, रातारात बने करोडपति

डिसी नेपाल
११ साउन २०८१ ११:०१
336
Shares

काठमाडौं । मध्य प्रदेशका एक मजदुर रातारात धनी बनेका छन् । पन्ना जिल्लाको भाडामा लिएको खानीबाट राजु गोन्डले ठूलो हीरा निकालेका छन् ।

यो १९.२२ क्यारेटको हीरा सरकारी लिलामीमा करिब ८० लाख भारतीय रूपैयाँ (१ करोड २८ लाख नेपाली रूपैयाँ)मा बिक्री भएको छ । राजु गोण्डले विगत दश वर्षदेखि पन्नामा खानी भाडामा लिएको बताए ।

पन्ना आफ्नो हीराका लागि प्रसिद्ध छ। यहाँ धेरैले सरकारबाट खानी भाडामा लिएर हिरा खोज्ने प्रयास गर्छन्। केन्द्रीय सरकारले राष्ट्रिय खनिज विकास निगम मार्फत पन्नामा एक यान्त्रिक हीरा खानी परियोजना सञ्चालन गर्दछ।

एनएमडीसीले खानीहरू व्यक्ति, परिवार र सहकारी समूहहरूलाई भाडामा दिन्छ। यी मानिसहरू साना औजारहरू प्रयोग गरेर हीरा खोज्ने प्रयास गर्छन्। यी मानिसहरूले जे पाउँछन्, त्यो सरकारी हीरा कार्यालयमा जम्मा गर्नुपर्छ। यो कार्यालयले हीराको मूल्याङ्कन गर्छ।

मध्य प्रदेश सरकारका एक अधिकारी अनुपम सिंहले बीबीसीलाई भने, “यी खानीहरू दुई सयदेखि २५० रुपैयाँमा निश्चित अवधिका लागि भाडामा दिइन्छ।”

सन् २०१८ मा बुन्देलखण्डका एक मजदुरले पन्नामा नै १.५ करोडको हीरा फेला पारेका थिए । तर, यस्ता महँगो हीरा भेटिने घटना सामान्य होइनन् ।

अनुपम सिंह भन्छन् “धेरैले दिनहुँ साना साना हीरा प्राप्त गरिरहन्छन्, तर गोन्डले फेला पारेको हीरा आकारका कारण जिज्ञासाको विषय बनेको थियो।”

राजु गोन्डले बीबीसीलाई बताएअनुसार उनका बुबाले दुई महिनाअघि पन्ना नजिकैको कृष्ण कल्याणपुर पट्टी गाउँमा खानी भाडामा लिएका थिए।

वर्षायाममा खेतमा काम नहुने भएकाले आफ्नो परिवारले पन्नामा खानी भाडामा लिएर हिरा खोज्ने काम गर्ने राजुले बताए ।

उनले भने, ‘हामी गरिब हौँ, आम्दानीको अर्को कुनै स्रोत छैन त्यसैले केही कमाउने आशामा यस्तो गर्छौँ ।”

राजुले बहुमूल्य हीरा फेला पारेका कथा धेरै सुनेका थिए र एक दिन आफूले पनि बहुमूल्य हीरा पाउने आशा थियो ।

बुधबार बिहान राजु सदाझैँ काम गर्न भाडाको खानीमा पुगेका थिए ।

आफ्नो कामको बारेमा राजु गोन्ड भन्छन्, “हामीले खाडल खन्ने, माटो र ढुङ्गा निकाल्ने, छलनीमा धुने र साना ढुङ्गाहरूमा ध्यान दिएर हिरा खोज्ने काम गर्छौं ।”

उनको कडा मेहनत बुधबार दिउँसो सार्थक भयो ।

उनी भन्छन्, “म ढुङ्गा धोइरहेको थिएँ । अचानक काँचजस्तो देखिने एउटा टुक्रा देखेँ। मैले त्यसलाई उठाएँ र आफ्नो आँखा अगाडि राखेँ। मन्द उज्यालो देखेँ। त्यसपछि मैले हिरा फेला पारेको महसुस गरें ।”

त्यसपछि राजु गोण्डले फेला परेको हीरा सरकारी हीराको कार्यालयमा लगे । त्यहाँ हीराको तौल र मूल्याङ्कन गरिएको थियो।

अनुपम सिंहले आगामी सरकारी लिलामीमा उक्त हीराको बोली लाग्ने बताए । उनले हिराको सरकारी रोयल्टी र कर काटेर बाँकी रकम राजु गोण्डलाई दिने बताए ।

राजु गोन्ड हिरा बेचेर कमाएको पैसा आफ्नो परिवारको लागि राम्रो घर र छोराछोरीलाई राम्रो शिक्षा दिन प्रयोग गर्न चाहन्छन्।

तर सबैभन्दा पहिले उनले ऋण लिएको पाँच लाख रुपैयाँ फिर्ता गर्न चाहन्छन् ।

राजुले आफूले पाएको ठूलो रकमको बारेमा संसारले थाहा पाउनेछ भन्ने डर छैन। प्राप्त रकम आफूसँगै बस्ने १९ जनालाई बाँड्नेछन् । अहिलेको लागि, उनी आफ्नो खातामा ठूलो रकम आउने तथ्यमा सन्तुष्ट छन्।

अन्तमा राजु गोन्ड भन्छन्, “भोलि फेरि त्यही खानीमा काम गर्न जान्छु अनि हिरा खोज्न थाल्छु।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.