कविता : मन छुने नेपालीको साहस

शंकरप्रसाद रिजाल
८ भदौ २०८१ ६:३१
144
Shares

नेपाली हामी नेपाली, गोर्खाली यो बीरको भूमि
विश्वले चिनिएको, यो बिशाल सगरमाथाको मुनि

झुकेन कहिल्यै यो देश, संसारको कुनै सामुमा
बसेको छ सधैं स्वाधीन, रही आफनो ठाउँमा

बलेको बत्तिको दियो झैं, यो अरुदेखि सानो छ
तर जाइ लाग्न आएमा, यसको आगो काफी छ

रातो चन्द्र सूर्यको चिन्ह, जंगी निशान हाम्रो
तातो रगतको जोश, युद्धमा झन् छ हाम्रो

पुर्खाले लडे युद्ध, द्वितीय विश्व युद्धमा
जीते बलको बीर, ती अंग्रेजको बीचमा

अंग्रेज युद्धमा तीनको, रह्यो नाम अजर
ज्युँदा लडाकुहरुले राखे, आफ्नो नाम अमर

आकाश गंगा, मनको अपार
खुकुरी ढाल र नंग्रा, ती बने अघोर

असार पानीको बर्षा, नभनी लडे युद्धमा
कसैको सामु झुकेनन्, ती बल र बुद्धिमा

बगेका छन् अझै राता रगत यो बीर भूमिमा
छोडेका छन् अझै भाला, त्यो पर त्रिशूलीमा

भोका पेट लिइ लड्ने, ती नेपालीजन हुन् बुझ
साना बालक बोकी लड्ने, महिला हुन् तिमी बुझ

यसरी आर्जेको मुलुक हो यो, हाम्रो नेपाल यही बिशाल
टिष्टादेखि सतलजसम्म फैलिएको हो यो देश नेपाल

रातो रगतले पोतेको, यो हाम्रो नेपाल हो
सेतो हिमालले ढाकेको, यो हाम्रो त्रिपाल हो

शिवजीको यहीँ बास, बास पार्बतÞीको पनि
सबै देबताहरुको बास, अहो! यो कत्तिको धनी

ऋषि मुनि यहाँ बस्थे, सधैं तपस्या गरी
दिब्य नेत्रपनि खुल्थे, यसै भूमीमा रही

डाँडा काँडा नदीनाला, तराइ समथर भूमि
गुराँस तोरीका फूल, फुलेका छन् यसै मुनि

गाउँ घर सबै बेशी खेत त्यो कल्कलाउँदो
झुलेका गहुँका बाला धानको झर्झराउँदो

जात जाति बसेका छन् आआफ्नो स्वधर्ममा
कोही त्यस्ता कुनै छैनन् लागेका कुकर्ममा

नेपालीको मनै ठूलो कत्तिपनि नरिसाउने
बोझको भारी बोक्दामा कतै नै नबिसाउने

इमान्दारी सबै जनता छन् यो नेपालमा
तैपनि किन पर्यो देश आज यो दुर्दशामा

गरीब गरीब नै छन् जनता यहाँ को छ हेर्ने
नेताको दम्भ ठूलो भो अब भए सब नसुध्रने

नेता बने सबै लोभी अर्काको दास बन्दिने
पारिको हात्ती आएमा मनमनै ति झस्किने

लाम लाग्छन् सबै नेता कोही आए घरमा भने
सत्ताको शक्तिमा बस्न अदम्य सास फेर्ने

लोकतन्त्र बन्यो हाम्रो विश्व हँसाउने तन्त्र यो
यसैमा सब भुलेका छन् राम्रो भनी यन्त्र यो

यो तन्त्र तन्त्र होइन खासमा जन भुलाउने
थोत्रो रुमाल देखाई मात्र जनता छक्याउने

तसर्थ हे नेपाली जनता हो अब उठ बिहानीमा
ठूलो बिकुल फुकाउ नौलो तिम्रो सिरानीमा

भ्रष्टाचारको बिकुल बजाउ राष्ट्रको जनहितमा
बगाउ राष्ट्रको प्रेम यो नेपालको आकासमा

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.