“शहर” मा आधुनिक जीवनले संवेदनशीलता हराएको देखिन्छ भने “तिमी गए पनि हुनेछ प्रेम”

सन्तोषी रावल
७ चैत २०८२ ९:१९
12
Shares

काठमाडौं। देब व्रतका कविताहरूमा प्रेम सरल र रमाइलो अनुभूति होइन, बरु समय, समाज र जीवनका संघर्षसँग गाँसिएको जटिल यथार्थका रूपमा देखिन्छ।

“शहर” मा आधुनिक जीवनले संवेदनशीलता हराएको देखिन्छ भने “तिमी गए पनि हुनेछ प्रेम” मा प्रेम निरन्तर रहने भावनाका रूपमा प्रस्तुत हुन्छ। “पृथ्वी” मा भने विश्वव्यापी पीडा र असमानताबीच प्रेम पनि थाकेको र संघर्षरत देखिन्छ। समग्रमा, उनका अनुसार प्रेम परिवर्तनशील, चोट खाँदै पनि कुनै न कुनै रूपमा जीवित रहने अनुभूति हो।

१. शहर

सधैँ सतर्क भएर हिँड्नु यो शहरमा।
पशु, चौपाया बौलाएका छन्।
चराचुरुङ्गी बौलाएका छन्।
आइमाई, केटाकेटी, लोग्ने मान्छे
यो शहरका मान्छेहरू बौलाएका छन्।

एक सडक छ।
छन् सयौँ भूलभुलैयाँ ।
कहाँ जाने हो ? कहाँ पुग्ने हो ?
यहाँ रोकिन मनाही छ
र पुग्न सख्त मनाही छ ।
यो शहरका साँगुरा चोकहरूमा
हिँडिरहेछन् हर कोही
बस हिँडिरहेछन् ।

काटिएको छ टाउको,
बाँधिएका छन् पैताला ।
मेटाइएको छ सिमा रेखा,
छैन कुनै छुनुपर्ने अन्तिम बिन्दु ।
कहाँ जाने हो ? कहाँ पुग्ने हो ?
यहाँ रोकिन मनाही छ
र पुग्न सख्त मनाही छ ।

शहर आफूभन्दा अग्ला सिर काटेर हिँड्छ,
आफूभन्दा होचा सिरहरूमा टेक्दै हिँड्छ ।
जसले आफ्नो काखमा राखेर
लट्ठा परेको कपाल कोरिदिएको थियो,
आज उसैलाई
यो शहरमा टेक्ने जमिन छैन,
समाउने हाँगो छैन ।
जसका आँखामा बसेर
हेरेको थियो शहरले भविष्यको ऐना,
उसैका आँखाबाट
यो शहरले आँखा झिकिदिएको छ ।

यो शहरबाट डराएर
दूर भागेको छ मृत्यु ।
यहाँका सडकमा
बट्टाका बट्टा जिन्दगी कैद गरेर,
थैलाका थैला सपनाहरू बोकेर
यात्रा गरिरहेछन् कंकालहरू ।

यहाँ मर्न सजिलो छैन
प्रत्येक दिन बाँचेर मर्नुपर्छ ।
यहाँ बाँच्न पनि सजिलो छैन
प्रत्येक दिन मरेर बाँच्नुपर्छ ।
यहाँ मर्न मनाही छ
र बाँच्न सख्त मनाही छ ।
अनुहार बेचेर
मान्छेहरूले यहाँ
प्लास्टिकको मुस्कान किनिरहेका छन् ।
जसका लागि बाँचेका छन्,
उसैको हत्या गरिरहेका छन्
यो शहरका मान्छेहरू ।
बौलाएका छन
शहर बौलाएको छ ।
२. तिमी गए पनि हुनेछ प्रेम

तिमी गए पनि हुनेछ प्रेम
उदासी, सन्नाटा र छटपटी हुनेछ
प्रतीक्षा कसैको ।

तिमी नहुँदा पनि थियो प्रेम ।
यो बाटो जहाँ तिमी कुदिरहेकी छौ,
यहाँ कोही अरू पनि कुद्थ्यो कहिले ।

ती आँखा
प्रेममय आँखा,
आँसु भरिएका आँखा,
रिस र उदेग लाग्दा आँखा,

घृणा र तिरस्कार मिसिएका आँखा
अब अरू कसैको प्रतीक्षा गर्छन् ।
अरू कसैको स्पर्शमा
रसाउँछन् ती ।
यो बाटो
जहाँ मुर्दा बोकेर मलामी कुदिरहेका छन्,
जीवन बोकेका श्रमिक उभिएका छन्,
दुर्घटनाग्रस्त अनुहारहरू ढलेका छन् ।

बिहान भएर कोही भत्किन्छ,
साँझ बनेर कोही दौडिन्छ ।

मालिकको कालो मोटर
फुटपाथका बटुवामाथि च्यापिन्छ ।
यहीँ छ साहुको पसल
जहाँ मलाई पर्खिरहेका आँखा छन् ।

यहीँ छ पूर्व प्रेमिकाको डेरा
जहाँ झ्याल खुल्लै राखेर
छकछक गरिरहन्छ उसको लोग्ने।
नाथे प्रेम
मानव किराना पसलको खुद्रा सामान जस्तो,
कुनै कर्पोरेट हाउसको जागिरे जस्तो ।

एउटा मान्छेसितको प्रेम
मान्छे जो मान्छेभन्दा बढी केही होइन,
जो जतिबेला रितिन सक्छ,
जो जतिबेला जोसितै भइदिन सक्छ।

यहाँ कसले गरेको छ प्रेम ?
को मरेको छ एक बहुलाई ?
को बाँचेको छ
एक भग्नावशेष अनुहार हेरेर ?

छोडिदेऊ
प्रेमका कुरा, छटपटीका कुरा, सम्झनाका कुरा ।
तिमी गए पनि हुनेछ प्रेम
उदासी, सन्नाटा र छटपटी हुनेछ
प्रतीक्षा कसैको ।

३. पृथ्वी
उथलपुथल, उलटपुलट छ पृथ्वीमा ।
दक्ष प्रजापतिको यज्ञकुण्ड जस्तो
छ यो भूगोल ।

कता कता नमिलेको,
कता कता चाउरिएको,
कता कता डल्लो परेको,
कता कता रोगन उडेको
हजुरबाको हुलिया जस्तो
भइसकेको छ पृथ्वी ।

कतै च्यात्तिएर बीचबाट
एक खुट्टा, एक हात,
छातीको एक पाटो,
एक आँखा, एक कान
आधा–आधा बोकेर
हिँडिरहेका छन् मान्छेहरू ।
कतै खाँदिएका छन् ।

संसारभरिका थोत्रा अनुहारहरू,
थोपारिएको छ कचरा मचरा ।
उथलपुथल, उकुसमुकुस
खुम्चिँदै खुम्चिँदै
मेरो कोठा बन्दैछ पृथ्वी ।

पानीले सोहोरेको फूल जस्तो,
आँसुले गलाएको अनुहार जस्तो,
समयले चुसेको मजदुरको ढाड जस्तो,
खियाले खाएको प्रेमीको हृदय जस्तो
भइसकेको छ पृथ्वी ।

कोही रोटी ठानेर खान्छ,
कोही पिज्जा मानेर चपाउँछ,
कोही ज्यादा ठानेर ओछ्याउँछ
कसैको त पृथ्वी नै छैन पृथ्वीमा ।

रात–रातभर रोइरहेछ रात,
क्षितिजबाट साँझले हाम फालेर
आत्महत्या गरेको छ ।
कतै च्यात्तिएर बीचबाट

उल्टो दौडिरहेका छन् बाटाहरू,
कतै च्यात्तिएर बीचबाट
घरहरू नै हिँडिरहेका छन्,
कतै च्यात्तिएर बीचबाट
नदीहरू विपरित बगिरहेका छन् ।

मेरो टाउकोमाथि
खस्नै लागेको छ आकाश
बीचबाट च्यात्तिँदै च्यात्तिँदै
म पनि आइपुगेको छु
खप्परसम्म ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *