छहराको संगीत र दुप्चेश्वरको यात्रा
छहराको संगीत र दुप्चेश्वरको यात्राले म अहिले आनन्दको संसारमा छु। नुवाकोटको प्रसिद्ध तीर्थधाम दुप्चेश्वर महादेवको दर्शनले एकातिर मन प्रफुल्ल छ भने अर्कातिर प्रकृतिको हरियालीले हर्षित छ।
हरियो जङ्गल र हरिया धानबालीका खेतखलियानले मनलाई अर्कै अनुभूतिको भावमा पुर्याइरहेका छन्। दुप्चेश्वर पुगेर फर्किंदा लामो यात्राको थकाइ र भोकले मन भारी होइन, बरु हलुका भइरहेको छ।
छङ्छङ् बग्ने छहराहरूसँग छचल्किँदै जीवन यसरी नै निरन्तर हाँस्दै, खेल्दै र रमाउँदै सन्तुष्टिका अमूल्य पलहरू गुजारिरहेको छ। मेरो अगाडि बजिरहेको यो छहरा केवल पानीका थोपाहरूको प्रवाह मात्र होइन; यो त जीवनको एक अनुपम सौन्दर्य हो, प्रकृतिको अपूर्व उत्सव हो।
चिसो भुइँमै थ्याच्च बस्नु, छहराको पानीमा भिज्नु र पानीको दहमा चुर्लुम्म डुब्नुको मज्जा वास्तवमा एक रोमाञ्चक क्षण हुँदो रहेछ। अन्यथा, हिँड्दाहिँड्दैका यात्री झरनामै किन रोकिन्छन्? किन झरनासँग मितेरी गाँस्न तम्सिन्छन् र?
दुप्चेश्वर महादेवको पवित्र दर्शनको सन्तुष्टि बोकेर फर्किंदा बाटोभरि भेटिएका अनेकौँ छाँगा, छहरा र झरनाहरूले अन्य यात्रीजस्तै मेरो मनलाई पनि मन्त्रमुग्ध बनाउन कुनै कसर बाँकी राख्दैनन्। महादेवको दर्शनका लागि एक-डेढ घण्टाको लाइनमा उभिने धैर्य, दर्शनबाट मिलेको शान्ति अनि फर्किंदाका यी रमणीय दृश्यहरू आँखामै नाचिरहेका छन्।
चट्टानको छाती फोडेर प्रखर वेगका साथ हुत्तिएर झर्ने त्यो उत्ताल तरङ्ग अनि गाढा हरियो रङमा सुशोभित पहाडी काख! आहा, प्रकृतिको कस्तो जीवन्त र जादुमयी दृश्य!
गाडीको झ्यालबाट आँखा बाहिर झारेर हेर्छु, मन त्यसै रमाउँछ। तन त्यसै खुसीले चिच्याउन खोज्छ। पछाडि फर्किएर हेर्छु, सहयात्री दिदीबहिनीहरूमा पनि रमाइलो पलको झलक स्वतः देख्छु। घरबाट बाहिर निस्किएपछिको फुक्काफाल यो स्वतन्त्र जिन्दगी सायद पिँजडाबाट निस्किएको कुनै पक्षीझैँ आफूखुसी जताततै विचरण गर्न हतारिन्छ।
छम्छम्, छङ्छङ् र झर्झर गर्दै झरिरहेको यो जलप्रवाह प्रकृतिको निरन्तर गतिशील विम्ब हो। तिनै छहराहरू मेरा लागि जीवनका पाइला हुन्, समयका मौन साक्षी हुन् र प्रकृतिका साक्षात् दर्पण हुन्।
यस्ता दृश्यहरूमा म मात्र होइन, बाटो हिँड्ने थकित यात्रीहरू पनि एकैछिन रोकिन्छन्। थकाइले निथ्रुक्क भिजेको शरीरलाई यही छहराको चिसो र सफा पानीमा चोपेर यात्रीहरू अपूर्व आनन्द र शान्तिको स्वाद लिन्छन्।
कतिपय यात्री गाडी रोकेर तिनै दृश्यमा आफ्ना आँखा डुबाइरहेका छन्। कतिपय पानीका सफा, शीतल बुँदहरूसँगै नाच्दै आफ्ना पसिना पखाल्दै छन्। यस्तो कञ्चन पानीको भेल र छहराको संरचना कहाँ देख्न पाउनु? बल्ल देख्न पाउँदाको क्षणलाई मनमा सजाउने हुटहुटी हुनु स्वाभाविकै हो।
त्यसैले छहरा-छाँगामा भेला भएका यात्रीहरू छ्यापाछ्याप गर्दै खुसी साटिरहेको देख्छु। माथिबाट ह्वात्त खसेको पानीको वेगले सातो जाने गरी भिजाउँदा पनि कुनै चोट महसुस भएको छैन। आफूले चाहेको कुरा मिल्दा मान्छेले सबै घाउचोट बिर्सिँदो रहेछ। मात्र रमाइलोको तृप्तिले मीठो आनन्द प्रदान गरिरहँदो रहेछ।
यस्तो लाग्छ— जहाँ म पुग्छु, त्यहाँ मैले खोजेकै दृश्य भेट्छु। जहाँ उभिएर म श्वास फेर्छु, त्यहाँ मैले रोजेकै शीतलता महसुस गर्छु। छहराको यो ओजस्वी गतिशीलतासँगै मेरो यात्रा र भावनाहरू पनि निरन्तर अगाडि बढिरहेका छन्। छहराको गुञ्जनमा म आफूलाई उन्मुक्त रूपमा मिसाएर लामो सास फेर्छु।
ओहो, यो कति मादक मिठास हो! जहाँ मनले बल्ल सुखद शान्तिको आभास पाएको छ। जहाँ तनले सुस्ताउँदै अनुपम दृश्यको स्वाद चाख्ने मौका पाएको छ।
झरनाको छेउमा उभिएर म यो अनुपम र उल्लासमय दृश्य नियाल्छु। यहाँ रामरमिताको एउटा छुट्टै मेला लागिरहेको छ। कोही छहराको चिसो पानीका छिटाहरूसँगै निष्फिक्री नाचिरहेका छन्। कोही ‘लहरा, पहारा, छहराको देश…’ भन्दै गीतको मधुर लयमा झुम्मिरहेका छन्। आँखै अगाडि मानिसहरू निरन्तर हाँसिरहेका छन्, नाचिरहेका छन् र प्रकृतिको काखमा हराइरहेका छन्।
यतिबेला यहाँ कसैलाई पनि साँझ पर्दै गइरहेको मतलब छैन। घर पुगिहाल्ने कुनै हतारो छैन। भोक लागिरहेको पनि ख्याल छैन। मुसलधारे पानी परेर आपत् आइलाग्ला कि भन्ने कुनै डर छैन। कुनै तनाव, दुःख र पीडाको सम्झना छैन। सबै अर्कै संसारमा आफू-आफैँमा विलीन भएर मस्तले रमाइरहेका छन्।
म सोच्छु— यो कस्तो विस्मयकारी स्थान हो, जहाँ कसैको मनमा कुनै दुःखको छनक छैन! कुनै पीडा, चोट वा तनावको छायासम्म पनि यहाँ आइपुग्दैन। खुसीको अनौठो बिस्कुन सुकाएर यहाँ सबै जना आफ्नै धुनमा मग्न र मस्त छन्।
वास्तवमा, यही त हो जीवनको अमूल्य र अनुपम सौन्दर्यको पल!
उकालो जङ्गलको काखमा बजिरहेको यो पानीको छहरासँग प्रकृतिको कस्तो अद्भुत संयोग हो! जहाँ वियोगको त कुनै सम्भावना नै छैन। मानौँ, मानिसका तमाम खुसीहरू नै यी झरनाका थोपा-थोपा पानीसँगै बगिरहेका छन्, हाँसिरहेका छन् र गाइरहेका छन्। तिनैमा हातेमालो गर्दै र अङ्गालोमा बेरिँदै परम सुखको पल गुजारिरहेका छन्।
जङ्गलबाट मरिकुच्चे घाँसको भारी बोकेर भित्तामा अडेस लाउँदै, खुइय्य सास फेर्दै बुढीआमाहरू पनि रमिता हेरिरहेका छन्। कोही खोल्सा, भीरपाखामा खोजेर-टिपेर डोकाभरि ल्याएका निगुरो बेच्ने तयारी गर्दै छन्। यात्रीहरू गाउँको अर्गानिक तरकारी भन्दै धमाधम किनिरहेका छन्। एकैछिनमा त्यहाँ हाटबजारकै रूप लिन्छ। किनबेचको हारालुछ नै हुन्छ। किनभने सबैलाई सस्तो, ताजा र गाउँको शुद्ध तरकारी चाख्ने धोको छ।
कसैले नासपाती, काँक्रो, इस्कुस र तामाका परिकार बेच्न फिँजाएका छन्। ती सामान एकैछिनमा सकिन्छन्। फेरि एकछिन चकमन्न सन्नाटा छाउँछ। त्यतिबेला चराका बथान भुरर्र उडेर कतै जङ्गलमा वेग हान्छन्। तल लिखु र खाल्टेका धानखेतीको हरियालीतिर आँखा डुल्न पुग्छन्। एकैछिनमा पर-परका क्षितिजमा आँखा रमाउँछन्। नजिकैका वनजङ्गलको सफा हरियालीले आँखालाई नवजीवन प्रदान गरिदिएझैँ भान हुन्छ। अनि झरनाको दृश्य र आवाजले मनका सबै मैलाधैला पखाली दिएर सिनित्तै सफा पारिदिन्छ।
साँचो नै, प्रकृतिको यो सेरोफेरोमा एकछिन सुस्ताउँदा पनि स्वस्थकर हावापानीले आयु नै लम्बिएझैँ महसुस हुँदो रहेछ। म चुपचाप यी दृश्यहरूमा आँखा डुलाउँदै रमाइरहेको छु। यतिबेला कसैको गनगनले पनि केही गर्दैन रहेछ। कसैको गाली पनि अर्ती हुँदो रहेछ। कसैको माया त झन् ठूलो प्राप्ति बन्दो रहेछ। जीवन यसरी नै यस्तैमा हाँस्दो रहेछ।
यात्राका मेरा सहयात्री दिदीबहिनीहरू पनि छहराको पानीमा छम्छम्ती भिज्दै रमाउँदै छन्। अरू यात्रीहरू पनि त्यसरी नै पालैपालो पानीसँग खेल्दै छन्। पानीसँग खेल्दै, जिस्किँदै र पानीमा आफूलाई समाहित गर्दै छरपस्ट खुसीहरू बटुलिरहेका छन्। कोही यो अमूल्य पललाई मोबाइलमा तस्बिरका रूपमा कैद गर्दै छन्। कोही छहरालाई पृष्ठभूमिमा पारेर रङ्गीन टिकटक बनाउँदै प्रकृतिको उत्सव मनाइरहेका छन्।
छहराको सङ्गीत र दुप्चेश्वरको यात्रा मेरा निम्ति एक आध्यात्मिक अनुष्ठान र प्रकृति-सन्निकट यात्रा बनिरहेको छ, जसका साथ मेरा पाइलाहरू अगाडि सरिरहेका छन्।
No ads found for this position


Facebook Comment