विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चको न्यायपछि पार्टी मिल्छ : शेरबहादुर देउवा
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू सम्पूर्ण रूपमा पार्टी एकताको पक्षमा रहेको बताएका छन्। शनिबार महाराजगञ्जस्थित निवासमा भेट्न पुगेका पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पार्दै सर्वोच्च अदालतको न्यायपछि पार्टीमा एकता हुने दाबी गरेका हुन्।
‘सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ। विशेष अधिवेशनको पक्षमा म थिइनँ, मैले मानेको पनि होइन,’ देउवाले भने, ‘त्यसको खिलाफमा हामीले मुद्दा दिएका छौं। त्यसको पुनरवलोकन नभएसम्म धेरै बोल्नु हुँदैन। मलाई विश्वास छ, त्यसमा न्याय मिल्छ। अनि पार्टी एकता हुन्छ।’
अर्को प्रसंगमा नेता देउवाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र पत्रकारिता अतिआवश्यक रहेको बताए। प्रेसले कसैको पक्ष वा विपक्षभन्दा भीष्म प्रतिज्ञाका रूपमा निष्पक्ष भई काम गर्नुपर्नेमा उनले जोड दिए।
‘स्वतन्त्र पत्रकारिता प्रजातन्त्रका लागि अतिआवश्यक कुरो हो। मेरो पक्षमा छ, मेरो पक्षमा छैन भन्ने कुरा होइन,’ देउवाले भने, ‘व्यक्तिपूजा होइन नि। प्रेसले पनि निष्पक्ष रूपले हेर्ने हो। प्रेस स्वतन्त्रता हरेक लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण हुन्छ।’
लामो समयको अन्तरालपछि स्वदेश फर्किएका देउवाले आफ्नो गृहक्षेत्र सुदूरपश्चिम तथा डडेलधुरा जाने तिब्र इच्छा रहेको बताए। स्थानीय जनताको माया र समर्थनलाई स्मरण गर्दै उनले त्यहाँका विकास निर्माणका बाँकी कामहरू पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment