फिल्ममा काम दिने बहानामा बलात्कार र ब्ल्याकमेल गरेको आरोपमा निर्देशक शकील नूरानी पक्राउ
काठमाडौं। फिल्ममा काम दिने बहानामा घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार गरेको र भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा भारतीय फिल्म निर्देशक शकील नूरानी पक्राउ परेका छन्। ‘जोरू का गुलाम’ फिल्मका ७३ वर्षीय निर्देशक नूरानीलाई ३३ वर्षीया एक अभिनेत्रीको उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।
पिडित अभिनेत्रीले प्रहरीमा दिएको जाहेरीअनुसार सन् २०१६ मा फिल्ममा भूमिका दिने भन्दै नूरानीले उनलाई मालवानीस्थित आफ्नो घरमा बोलाएका थिए।
त्यहाँ शीतल पेय पदार्थ (सफ्ट ड्रिङ्क) मा नशालु पदार्थ मिसाएर खुवाएपछि उनी बेहोस भएकी थिइन्। होस आएपछि नूरानीले उनको भिडियो बनाएको देखाउँदै सोही भिडियो सार्वजनिक गरिदिने धम्की दिएर पटक-पटक यौन शोषण गरेको उजुरीमा उल्लेख छ।
उजुरी दर्ता भएपछि फरार रहँदै आएका नूरानीलाई प्रहरीले करिब ४० दिनपछि सातारा जिल्लाको मेधास्थित एक फार्महाउसबाट पक्राउ गरेको हो।
उनलाई अदालतमा पेस गरिएपछि आगामी अगस्ट १२ सम्मका लागि प्रहरी हिरासतमा पठाइएको छ। यता, नूरानीका वकिल विकास सिंहले भने आफ्ना क्लाइन्टलाई झुटो मुद्दामा फसाइएको दाबी गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment