दशैंमा किन घट्यो नेपाली फिल्मको कमाइ? सिक्वेलहरूको व्यापार अपेक्षाभन्दा कमजोर

भेषराज कार्की / नेपाल न्यूज बैंक
१६ कार्तिक २०८३ १४:३७

काठमाडौं।  नेपाली चलचित्र क्षेत्रका लागि दशैंको समयलाई व्यवसायका दृष्टिले निकै अनुकूल मानिन्छ। पारिवारिक माहोलमा परिवार नै दर्शक बनेर सिनेमा हलसम्म पुग्ने भएकाले निर्माता तथा निर्देशकहरू आफ्ना फिल्म दशैँमै प्रदर्शन गर्न तँछाडमछाड गर्छन्।

यसपटकको दशैँलाई लक्षित गर्दै टीकाअघि ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा आए भने टीकाको भोलिपल्ट (कात्तिक ६ गते) देखि ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ हलमा लाग्यो। तर, चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आधिकारिक बक्सअफिस तथ्याङ्क अनुसार अघिल्ला वर्षहरू र अघिल्ला भागहरूको तुलनामा यसपटक दशैँमा प्रदर्शन भएका अधिकांश फिल्मको कमाइमा उल्लेख्य गिरावट आएको छ।

बक्सअफिसको ताजा स्थिति

बोर्डको कात्तिक १५ गते आइतबारसम्मको तथ्याङ्क अनुसार टीकापछि प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले बक्सअफिसमा आक्रामक व्यापार गर्दै १० करोड ७६ लाख ७३ हजार ७ सय १५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यो फिल्म ३ लाख ४६ हजार ४ सय २७ जना दर्शकले हेरिसकेका छन्।

उता टीकाअगाडि जुधेका तीन ठुला सिक्वेल फिल्महरूको कमाइ भने अघिल्ला शृंखलाको तुलनामा निकै कमजोर देखिएको छ:

  • ‘आ बाट आमा २’: ६ करोड २४ लाख ७० हजार १ सय ३० रुपैयाँ (२ लाख १३ हजार १ सय ९४ टिकट बिक्री)। जबकि यसको पहिलो भाग ‘आबाट आमा’ ले १३ करोड २० लाख रुपैयाँ कमाएको थियो।

  • ‘छ माया छपक्कै २’: ३ करोड ३४ लाख ८४ हजार ४ सय ३५ रुपैयाँ। यसको पहिलो भाग ‘छ माया छपक्कै’ ले ९ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो।

  • ‘१२ गाउँ २’: २ करोड २९ लाख ५७ हजार ९ सय ८६ रुपैयाँ। जबकि यसको पहिलो भाग ‘१२ गाउँ’ ले १९ करोड ९२ लाख रुपैयाँको कीर्तिमानी व्यापार गरेको थियो।

सर्जक तथा कलाकारको प्रतिक्रिया

‘कबड्डी ५’ का प्रमुख अभिनेता दयाहाङ राईले १२ वर्षदेखि दर्शकले ‘काजी’ पात्रलाई माया गरेकाले फिल्मसँग सजिलै जोडिन सकेको बताए। आगामी शृंखलाबारे बोल्दै उनले ‘कबड्डी ६’ आउन भने केही समय लाग्ने र त्यसमा काजीको उमेर, मनोविज्ञान र शारीरिक रूपमा थप परिवर्तन देखिने जानकारी दिए।

फिल्म ‘आ बाट आमा २’ का निर्देशक चन्द्र पन्तले दशैँमा धेरै फिल्म एकैपटक भिड्दा एकल प्रदर्शनको जस्तो ठुलो व्यापार नभएको स्वीकारे। उता अभिनेता दीपकराज गिरीले आफ्ना अघिल्ला फिल्महरूको तुलनामा ‘छ माया छपक्कै २’ को व्यावसायिक नतिजा कमजोर आएको स्वीकार गर्दै यसको जिम्मेवारी आफूले लिने बताए। दर्शकमार्फत हास्यरस कम भएको प्रतिक्रिया पाएको उल्लेख गर्दै उनले अधुरो कथा पूरा गर्न आगामी दशैँमा ‘छ माया छपक्कै ३’ लिएर आउने दाबी गरे।

कमाउ धन्दा र हतारको निर्माणले खस्कियो व्यापार

विक्रम संवत् २०८१ को दशैँमा प्रदर्शन भएका फिल्महरूले झन्डै ३९ करोड रुपैयाँको कुल व्यापार गरेका थिए भने २०८२ को दशैँमा यो व्यापार १५ करोडमा सीमित भएको थियो। यस वर्ष पनि सोहीअनुसार कमाइमा ह्रास आएको छ।

कथाको मर्मभन्दा पनि सिक्वेल वा सिरिजलाई सहजै पैसा कमाउने माध्यम बनाउने, बिदालाई मात्र लक्षित गरेर हतार-हतार छायाङ्कन सकाउने र जबर्जस्ती कथा तन्काउने निर्माता-निर्देशकको प्रवृत्तिका कारण दर्शकको साथ कम मिलेको विश्लेषण फिल्म क्षेत्रका जानकारहरूले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *