पत्रकारमाथिका अपराधमा दण्डहीनता अन्त्य गर्न माग, द्वन्द्वकालीन मुद्दा नियमित अदालतबाट चलाउन प्रस्ताव

डिसी नेपाल
१६ कार्तिक २०८३ १३:१०
4
Shares

काठमाडौं। पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २) का अवसरमा फ्रीडम फोरमले नेपालमा पत्रकारमाथि भएका हत्या, बेपत्ता तथा हिंसाका घटनामा संलग्नलाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै फोरमले पत्रकारमाथिका अपराधमा दण्डहीनता कायम रहँदा प्रेस स्वतन्त्रता र कानुनी शासन कमजोर बनेको निष्कर्ष निकालेको छ । यस वर्षको दिवसको नारा ‘खतरा बदलिँदै छन्, दण्डहीनता कायमै छ’ रहेको छ ।

संक्रमणकालीन न्याय होइन, नियमित फौजदारी प्रक्रिया चाहियो

फोरमका अनुसार २०५२ सालदेखि सुरु भएको दशक लामो सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादी र राज्य पक्षबाट हत्या तथा बलपूर्वक बेपत्ता पारिएका पत्रकारका परिवारले अझै न्याय पाउन सकेका छैनन् । सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता भए पनि ती मुद्दा अझै टुंगिएका छैनन् ।

पत्रकारहरू द्वन्द्वका प्रत्यक्ष पक्ष नभई मानव अधिकार रक्षक भएकाले उनीहरूमाथिका अपराधलाई संक्रमणकालीन न्याय संयन्त्रको सट्टा नियमित फौजदारी न्याय प्रणालीबाट सम्बोधन गर्नुपर्ने फोरमको मुख्य माग छ ।

विचाराधीन र अनुसन्धान नभएका मुद्दाको सूची

फोरमले द्वन्द्वकालमा मारिएका पत्रकार नवराज शर्मा ‘वसन्त’, कृष्णबहादुर सेन, गोपाल गिरी, ईश्वर बुढाथोकी, कुमार घिमिरे, देवकुमार आचार्य, राजकुमार केसी, कमल एसी, महेश्वरी पहारी र अम्बिका तिमिल्सेनाका मुद्दा अझै आयोगमा विचाराधीन रहेको जनाएको छ ।

विस्तृत शान्ति सम्झौतापछि हत्या गरिएका जगतप्रसाद जोशी, खगेन्द्र श्रेष्ठ र देवीप्रसाद धितालका घटनामा अनुसन्धान अघि नबढेको फोरमको भनाइ छ । जमिम शाह, २०१५ को मधेश आन्दोलनमा ज्यान गुमाएका रोहन चौधरी र गणेश चौधरीका घटनामा पनि न्यायिक प्रक्रिया अघि बढ्न सकेको छैन ।

बेपत्ता र पछिल्ला हिंसाका घटना

द्वन्द्वकालमा बेपत्ता पारिएका धनबहादुर रोकाया मगर र मिलन नेपाली तथा त्यसपछि बेपत्ता भएका मदन पौडेल र प्रकाशसिंह ठकुरीको अवस्था अझै अज्ञात छ ।

हिंसा द्वन्द्वकालमा मात्रै सीमित नरहेको उल्लेख गर्दै फोरमले २०२५ मार्च २८ मा काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनको समाचार संकलनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्युको निष्पक्ष अनुसन्धान हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेको छ ।

त्यस्तै, २०२५ सेप्टेम्बर ८ मा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका पत्रकार शम्भु दंगाल, दीपेन्द्र ढुंगाना, श्याम श्रेष्ठ र उमेश कार्कीका घटनामा पनि दोषीमाथि कारबाही नभएको फोरमले जनाएको छ । गौरीबहादुर कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरी सिफारिस गरे पनि कार्यान्वयनमा ठोस कदम नचालिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रेस स्वतन्त्रता उल्लंघनको भयावह चित्र

फोरमको प्रतिवेदनअनुसार २०२५ नोभेम्बर १ देखि २०२६ अक्टोबर ३१ सम्म नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाबाट १०३ जना पत्रकार प्रभावित भएका छन्, जसमा ९१ पुरुष र १२ महिला छन् । पछिल्लो समय सञ्चारमाध्यमका कार्यालयमा सुरक्षा निकायको प्रवेश र पत्रकार पक्राउका घटनाले थप चुनौती थपेको फोरमको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *