तिहारलाई लक्षित गर्दै साढे ६४ करोड रुपैयाँको झिलिमिली बत्ती आयात
काठमाडौं। उज्यालोको पर्व तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती नेपाल आयात भएको छ। भन्सार विभागको अध्यावधिक तथ्यांकअनुसार असोज मसान्तसम्ममा २८ लाख ५९ हजार थान झिलिमिली बत्ती भित्रिएका हुन्।
गत आर्थिक वर्षको सोही अवधिमा भने ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान झिलिमिली बत्ती आयात भएका थिए। गत वर्षको तुलनामा यस वर्ष आयातको कुल रकम करिब ८ प्रतिशतले बढेको देखिए पनि आयातित परिमाण भने करिब २७ प्रतिशतले घटेको छ।
नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार कच्चा पदार्थको मूल्य वृद्धि, अमेरिकी डलरको विनिमय दरमा भएको बढोत्तरी र ढुवानी खर्च महँगिएका कारण विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म बढेको छ।
उनका अनुसार नेपालमा विद्युतीय सामग्रीको उत्पादन तथा आयातमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ चीनबाट र केही मात्रामा भारतबाट आउने गर्दछन्। विशेषगरी चीनबाट आउने सामग्रीको उत्पादन लागत स्रोत बजारमै बढेकाले त्यसको सीधा असर नेपाली बजारमा परेको उहाँले स्पष्ट पार्नुभयो।
झिलिमिली बत्तीमा प्रयोग हुने तामाको तारदेखि बाहिरी आवरणमा प्रयोग हुने प्लास्टिकसम्मका कच्चा पदार्थको मूल्य उच्च भएको पौडेलले जानकारी दिए। उनले भने, “झिलिमिली बत्तीभित्र प्रयोग हुने तार, तामाको मूल्य र तारको आवरणका रूपमा प्रयोग हुने प्लास्टिकको मूल्य पनि बढेको छ। सामग्री उत्पादनमा प्रयोग हुने अधिकांश कच्चा पदार्थको मूल्य स्रोत बजारमै बढेको अवस्था छ।”
कच्चा पदार्थको मूल्यका साथै अमेरिकी डलरको विनिमय दर बलियो बन्दा पनि आयात लागतमा वृद्धि भएको उनको भनाइ छ। “डलर अघिल्लो वर्षभन्दा यस वर्ष बढेको र कच्चा पदार्थको लागत पनि वृद्धि भएकाले स्रोत बजारमै पर्ने प्रतियुनिट मूल्य बढेको हो,” उनले भने।
यसैगरी अन्तर्राष्ट्रिय ढुवानी खर्चमा भएको उल्लेख्य वृद्धिले पनि आयातित सामग्रीलाई थप महँगो बनाएको छ। पौडेलका अनुसार अघिल्लो वर्ष एउटा कन्टेनरको ढुवानी खर्च २ हजारदेखि २ हजार २०० अमेरिकी डलरसम्म पर्ने गरेकोमा अहिले ६ हजार डलर तिर्दासमेत कन्टेनर सहजै पाउन नसकिने जटिल अवस्था छ। यसरी ढुवानी भाडा करिब तीन गुणासम्म बढ्दा त्यसको अन्तिम भार उपभोक्ताले खरिद गर्ने सामग्रीको मूल्यमै पर्ने उहाँले बताउनुभयो।
चीनसँग जोडिएको उत्तरी केरुङ नाकाबाट नियमित रूपमा सामग्री भित्र्याउन नसक्दा पनि आयात लागत बढ्न पुगेको पौडेलले जानकारी दिए। केरुङ नाकाबाट सामान ल्याउँदा तुलनात्मक रूपमा कम खर्च पर्ने भए पनि अहिले वीरगन्जलगायतका अन्य टाढाका भन्सार नाकाबाट घुमाएर सामान ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए।
पौडेलका अनुसार हाल बजारमा विद्युतीय सामग्रीको माग उच्च रहे पनि आपूर्ति पक्ष भने निकै कमजोर बनेको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै व्यवसायीहरूसँग पर्याप्त मौज्दात (स्टक) समेत छैन। मूल्य बढे पनि कारोबारको परिमाण भने सोही अनुपातमा विस्तार हुन नसकेको उनले बताए।
कच्चा पदार्थको महँगी, डलरको मजबुती र अन्तर्राष्ट्रिय ढुवानी खर्चमा भएको वृद्धिका साथै आपूर्तिमा समेत समस्या देखिएकाले यस वर्षको तिहारमा झिलिमिली बत्तीको मूल्य गत वर्षको तुलनामा महँगो पर्ने व्यवसायीहरूको आकलन छ।
पार्वती भण्डारी -नेपाल न्यूज बैंक
No ads found for this position



डिसी नेपाल
Facebook Comment