मध्यपूर्व द्वन्द्वका कारण एसियामा इन्धनको मूल्य युद्धपूर्वको भन्दा दोब्बर, युरोपमा ग्यास भण्डारण संकट

डिसी नेपाल
१६ कार्तिक २०८३ ११:३५

काठमाडौं। पश्चिम एसिया (मध्यपूर्व) मा चुलिँदो सैन्य द्वन्द्व र ऊर्जा सङ्कटका कारण एसियाली मुलुकहरूमा इन्धनको मूल्य युद्ध सुरु हुनुभन्दा अघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ।

अमेरिकी वित्तीय अध्ययन संस्था ‘ब्ल्याक रक’ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सुरुमा कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध अहिले प्रशोधन (रिफाइनरी) र समुद्री ढुवानी प्रणालीसम्म विस्तार भएपछि एसियासहित विश्वभर इन्धनको मूल्यमा व्यापक उछाल आएको हो।

प्रतिवेदन अनुसार द्वन्द्वको सुरुआती चरणमा वैकल्पिक जलमार्ग, मौज्दात सामग्री र रणनीतिक भण्डारको प्रयोगले कच्चा तेलको आपूर्तिमा ठूलो धक्का पर्न दिएको थिएन।

तर, खाडी क्षेत्रका महत्त्वपूर्ण ऊर्जा पूर्वाधारहरू र मुख्य समुद्री ढुवानी मार्गहरूलाई नै लक्षित गरी शृङ्खलाबद्ध आक्रमणहरू हुन थालेपछि विश्वव्यापी आपूर्ति प्रणालीमाथि थप गम्भीर दबाब सिर्जना भएको छ।

अहिले संकटको मुख्य असर कच्चा तेलको उपलब्धतामा भन्दा पनि प्रशोधित इन्धन (डिजेल, पेट्रोल, हवाई इन्धन) र ट्यांकर ढुवानी क्षेत्रमा बढी स्पष्ट देखिन थालेको छ। कच्चा तेलको आपूर्ति प्रणालीमा सामान्य सुधार देखिए पनि प्रशोधन क्षमताको कमी र ट्यांकरको अभावका कारण बजारमा प्रशोधित इन्धन निकै महँगो बनेको छ।

यसैबीच अन्तर्राष्ट्रिय बजारमा गत अक्टोबर २३ मा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ अमेरिकी डलरसम्म पुगेको थियो, जुन अघिल्लो अप्रिल महिनायताकै सबैभन्दा उच्च विन्दु हो। यद्यपि पछि केही सुधार भई प्रतिब्यारेल ११०.१८ डलर आसपासमा कारोबार भएको थियो।

ऊर्जा संकटको प्रत्यक्ष असर सम्बन्धित कम्पनीहरूको सेयर बजारमा पनि परेको छ। यस वर्ष तेल प्रशोधन गर्ने कम्पनीहरूको सेयर मूल्य करिब १६० प्रतिशत र तेल ट्यांकर सञ्चालक कम्पनीहरूको सेयर मूल्य १२० प्रतिशतले बढेको छ भने प्रमुख तेल तथा ग्यास उत्पादक कम्पनीहरूको सेयर भने ४० प्रतिशतले मात्र बढेको ब्ल्याक रकको विश्लेषण छ।

क्षेत्रगत रूपमा विश्लेषण गर्दा एसियाली बजारसँगै युरोप यो ऊर्जा सङ्कटबाट सबैभन्दा बढी प्रभावित र जोखिममा परेको छ। संकटका कारण युरोपको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब ०.५ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ भने अमेरिकामा यसको असर ०.१ प्रतिशतमा मात्र सीमित छ।

युरोपमा हाल प्राकृतिक ग्यासको भण्डारण क्षमता करिब ७५ प्रतिशत मात्र भरिएको छ, जुन सन् २०११ देखि तथ्यांक राख्न थालिएयताकै यो मौसमका लागि न्यूनतम स्तर हो।

तरल प्राकृतिक ग्यास (एलएनजी) को आपूर्तिमा अवरोध कायम रहेकाले आगामी जाडोयाम अत्यधिक चिसो भएमा युरोपमा ऊर्जाको मूल्य थप अकासिन सक्ने चेतावनी दिइएको छ। चालु वर्षभित्रै युरोपेली ऊर्जा मूल्य १७० प्रतिशतसम्म बढिसकेको छ।

उता अमेरिका आफैँमा खुद ऊर्जा निर्यातकर्ता मुलुक भएकाले अन्तर्राष्ट्रिय ऊर्जा संकटबाट तुलनात्मक रूपमा सुरक्षित रहेको छ। त्यस्तै एसियाली मुलुकहरूमा प्रविधिजन्य वस्तुहरूको बलियो निर्यातका कारण बढ्दो ऊर्जा आयात लागतको असर केही हदसम्म सन्तुलित हुन पुगेको छ।

मध्यपूर्वको जारी द्वन्द्व अन्त्य नै भए पनि आगामी दिनमा ऊर्जा सुरक्षाका लागि वैकल्पिक आपूर्ति मार्ग र पूर्वाधारमा लगानी गर्ने प्रवृत्ति विश्वभर दीर्घकालसम्म जारी रहने ब्ल्याक रकको ठम्याइ छ।

ऊर्जा आपूर्ति प्रणालीलाई बलियो र सुरक्षित बनाउन आवश्यक पर्ने ठूलो लगानीका कारण आगामी दिनमा पुँजीका लागि प्रतिस्पर्धा बढ्नुका साथै दीर्घकालीन सरकारी ऋणपत्रको ब्याजदरमा समेत थप दबाब सिर्जना हुने अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *