अमेरिका र इरानबीचको तनाव: ट्रम्प र नेतान्याहुबीच फोनवार्ता, सैन्य कारबाही र कूटनीतिक प्रयासलाई लिएर मतभेद
President Donald Trump greets Israeli Prime Minister Benjamin Netanyahu and his wife, Monday, July 7, 2025, at the South Portico of the White House.(Official White House Photo by Daniel Torok)
काठमाडौं । अमेरिका र इरानबीच जारी तनावकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरानको मुद्दालाई लिएर तीव्र संवाद भएको छ। चर्चित न्युज वेबसाइट ‘एक्सियोस’ को रिपोर्टअनुसार, शनिबार दुई नेताबीच फोनमा इरानसँगको अमेरिकी वार्ताबारेको स्थिति र पुनः सैन्य अपरेसन सुरु गर्ने विषयमा छलफल भएको थियो।
नेतान्याहु मंगलबार हुने अमेरिकी मध्यावधि चुनाव लगत्तै इरानमाथि नयाँ आक्रमणहरू गरियोस् भन्ने चाहन्छन्, तर ट्रम्प भने कूटनीतिक प्रयासहरूलाई थप समय दिने पक्षमा देखिएका छन्। रिपोर्टमा एक इजरायली र एक अमेरिकी स्रोतको हवाला दिँदै नेतनयाहुले इरानविरुद्ध छिटोभन्दा छिटो सैन्य कारबाही गर्न ट्रम्पलाई दबाब दिइरहेको बताइएको छ।
अर्कातर्फ, ट्रम्प हाल इरानसँग वार्ताका माध्यमबाटै समाधान खोज्ने पक्षमा छन्। एक इजरायली स्रोतले दुई नेताबीचको कुराकानीलाई ‘कठिन’ रूपमा वर्णन गरेको छ भने अमेरिकी स्रोतले यसलाई ‘सिधा र स्पष्ट’ कुराकानी भनेको छ। यद्यपि, ह्वाइट हाउस र इजरायली प्रधानमन्त्रीको कार्यालयले यस फोनवार्तामाथि टिप्पणी गर्न अस्वीकार गरेका छन्।
रिपोर्टका अनुसार ट्रम्पले इरानको मामिलामा एकसाथ दुईवटा रणनीतिमा काम गरिरहेका छन्। एकातर्फ उनी शान्तिवार्ता पुनः सुरु गर्न सम्झौताको प्रयास गरिरहेका छन् भने अर्कातर्फ मध्यावधि चुनावपछि ठूलो सैन्य अपरेसनको सम्भावित पुनरावृत्तिको तयारी पनि गरिरहेका छन्। ट्रम्पले यसअघि जुन २०२५ मा ‘अपरेसन मिडनाइट ह्यामर’ र फेब्रुअरीमा ‘अपरेसन एपिक फ्युरी’ अघि पनि यस्तै रणनीति अपनाएका थिए।
शनिबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वार्ता राम्रोसँग अघि बढिरहेको र आफूलाई कुनै सम्झौताका लागि धेरै हतार नभएको बताएका थिए। यद्यपि, उनले इरानको विश्वसनीयतामाथि प्रश्न उठाउँदै इरानीहरू सम्झौता गर्न त चाहन्छन् तर उनीहरू भरपर्दा छैनन् भन्ने टिप्पणी गरे। ट्रम्पले भने, ‘उनीहरू सम्झौता गर्छन् र फेरि त्यसबाट पछि हट्छन्।’
वार्ताका साथसाथै ट्रम्पले इरानका आणविक प्लान्टहरूमाथि नयाँ आक्रमणको सम्भावनासमेत औंल्याएका छन्। अमेरिकाले अझै पनि इरानका एक-दुईवटा आणविक ठेगानाहरूसँग जुध्न बाँकी रहेको बताउँदै उनले विशेष गरी ‘पिकएक्स माउन्टेन’ को उल्लेख गरे, जुन पहाडभित्र बनाइएको एक संदिग्ध आणविक ठेगाना मानिन्छ। ट्रम्पले भने, ‘हामी यो काम १० मिनेटमा गर्न सक्छौं। हामीले यसको योजना तयार पारेका छौं। तपाईं पिकएक्स माउन्टेनलाई हेर्न सक्नुहुन्छ। हामीले त्यससँग जुध्नुपर्नेछ र हामी यो धेरै चाँडै गर्न सक्छौं।’
यसैबीच, अमेरिकाको तर्फबाट कूटनीतिक प्रयासहरू पनि जारी छन्। रिपोर्टका अनुसार, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गत साता इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसिन रेजाईलाई एक पत्र पठाएका थिए। उक्त पत्रमा अमेरिका र इरानबीच वार्ता पुनः सुरु गर्ने सम्भावना खोजी गर्ने कुरा उल्लेख गरिएको थियो। पछिल्ला केही महिनाहरूमा इरानसँग गरिएको यो अमेरिकाको सबैभन्दा उच्चस्तरीय सम्पर्क बताइएको छ।
अर्कातर्फ, कतारका मध्यस्थकर्ताहरूले आइतबार लगातार तेस्रो दिन इरानी अधिकारीहरूसँग बैठक गरेका छन्। यी बैठकहरूको मुख्य उद्देश्य अमेरिका र इरानबीच सीधा वार्ता पुनः सुरु गराउन सहमति जुटाउनु हो। यद्यपि, इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार स्पष्ट पारे कि वार्ता पुनः सुरु गर्ने विषयमा हालसम्म कुनै पनि सम्झौता भएको छैन।
उनले कुनै पनि सम्झौताको सम्भावना अमेरिकाले इरानका प्रश्नहरूको कस्तो जवाफ दिन्छ भन्ने कुरामा निर्भर गर्ने बताए। अराघचीले भने, ‘हामी यस दिशामा हरसम्बभव प्रयास गरिरहेका छौं र आशा गर्छौं कि अर्को पक्षले पर्याप्त समझदारी देखाउनेछ र अन्य बाटाहरूको सट्टा कूटनीतिलाई रोज्नेछ।’
हाल इरानको विषयलाई लिएर अमेरिका र इजरायलबीच आगामी रणनीतिलाई लिएर मतभेद रहेको बाहिर आएको छ, जहाँ नेतान्याहु छिटो सैन्य कारबाही चाहन्छन् भने ट्रम्प वार्तालाई अझै समय दिन चाहन्छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment