पोर्चुगलमा आवाससम्बन्धी महँगीविरुद्ध प्रदर्शन: लिस्बन र पोर्टोमा प्रहरी र प्रदर्शनकारीबीच झडप

डिसी नेपाल
१६ कार्तिक २०८३ ९:०७

काठमाडौं । पर्चुगलमा बढ्दो आवास समस्याविरुद्ध हजारौँ मानिसले गरेको प्रदर्शनपछि आइतबार लिस्बन र पोर्टोमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रदर्शनकारीहरूले सरकारसँग घरभाडासम्बन्धी त्यो विधेयक फिर्ता लिन माग गरिरहेका छन्, जसले देशको आवास सङ्कटलाई अझ गहिरो बनाउन सक्ने उनीहरूको भनाइ छ।

लिस्बनको रोसियो स्क्वायरमा शनिबार हजारौँ मानिसको सहभागितामा भएको मार्चपछि प्रदर्शनकारीहरूले ५० भन्दा बढी टेंट पाल गाडेका थिए। आइतबार बिहान करिब ४:३० बजे प्रहरीले उक्त टेन्ट क्याम्प हटाउने कारबाही सुरु गर्‍यो।

प्रहरी कमान्डर इउरी रोड्रिग्सले प्रदर्शनकारीहरूलाई अवैध रूपमा राखिएका टेन्टहरू हटाउन तीनपटक चेतावनी दिएका थिए र विरोध गर्नेहरूमाथि कानुनको अवज्ञा गरेको मुद्दा चलाउन सकिने चेतावनी दिएका थिए।

त्यसपछि दर्जनौँ प्रहरीकर्मीहरू टेन्ट क्याम्पमा पुगेका थिए, जसमा केही प्रहरी कुकुरहरूसँगै थिए। टेन्ट क्याम्पको सुरक्षा गरिरहेका सयौँ प्रदर्शनकारीहरूलाई प्रहरीले ढाल र केही ठाउँमा लाठीचार्जको प्रयोग गरेर हटाएको थियो।

लिस्बनबाहेक पोर्टोको डोम जोआओ प्रथम स्क्वायरमा पनि यस्तै प्रकारको एउटा सानो टेन्ट क्याम्प लगाइएको थियो। प्रहरीले त्यहाँ पनि कारबाही गर्दै क्याम्प हटाएको छ। यसअघि सोशलिस्ट पार्टीका सांसद पेड्रो डेलगाडो अल्भेसले रोसियो स्क्वायरको प्रदर्शन शान्तिपूर्ण रहेको बताएका थिए। उनले बल प्रयोग, शारीरिक हिंसा वा लाठीचार्जजस्ता प्रहरी कारबाहीको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएका थिए।

पोर्चुगल हाल युरोपको सबैभन्दा गम्भीर आवास सङ्कटमध्ये एकसँग जुधिरहेको छ। यसको सबैभन्दा ठूलो असर युवापुस्तामा परेको छ। सन् २०१७ यता देशमा घरको मूल्य दोब्बरभन्दा बढी पुगेको छ भने नयाँ भाडा सम्झौताहरूमा भाडा लगभग दोब्बर नै बढेको छ।

पछिल्ला केही साताहरूमा बढ्दो आवास लागतलाई लिएर पोर्चुगलमा विरोध प्रदर्शनहरू तीव्र भएका छन्। यस्तै प्रकारका प्रदर्शनहरू स्पेन, फ्रान्स, जर्मनी र युरोपका अन्य भागहरूमा पनि देखने गरिएका छन्। गत साता पनि यिनै क्षेत्रहरूमा टेन्ट क्याम्प हटाउने क्रममा प्रहरीले प्रदर्शनकारीहरूमाथि लाठीचार्ज गरेको र दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको घटनालाई लिएर व्यापक आलोचना भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *