धरानमा प्रहरीको दुई राउन्ड हवाई फायर, २१० किलो गाँजासहित पाँच जना पक्राउ

डिसी नेपाल
१६ कार्तिक २०८३ ९:०९

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका जिपमा खानतलासी गर्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको थियो।

प्रहरीका अनुसार प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी पाँचै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्।

त्यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेल पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार रामसागर बा.१ च ५०३८ नम्बरको जिपका चालक हुन् भने राजकुमार को.१ च ८१८२ नम्बरको जिप चलाइरहेका थिए।

बरामद गाँजा र पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *