तेस्रो एनपिएलका लागि कर्णाली याक्समा बंगलादेशी ब्याटर जिशन अलाम अनुबन्ध

डिसी नेपाल
१६ कार्तिक २०८३ ८:०६

काठमाडौं। तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुखद सुरुआत गरेको कर्णाली याक्सले टोलीको शीर्षक्रम बलियो बनाउन बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ।

कर्णाली याक्स स्पोट्र्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई बाँकी प्रतियोगिताका लागि टोलीमा भित्र्याइएको जानकारी गराउनुभयो। अध्यक्ष घिमिरेले जिशनको आगमनसँगै टिमको ब्याटिङ अझ मजबुत हुने विश्वास व्यक्त गरे।

“जिशन पछिल्लो समय उत्कृष्ट लयमा रहेकाले हामीले अनुबन्ध गरेका हौँ। उनको उपस्थिति पछि कर्णालीको शीर्षक्रम अझ बलियो हुनेछ,” घिमिरेले भने। उनका अनुसार टोलीमा पहिले नै दुई बंगलादेशी खेलाडी रहेकाले जिशनलाई यहाँको वातावरणमा घुलमिल हुन र खेल्न सहज हुनेछ।

जिशन कर्णाली याक्समा आबद्ध हुने बंगलादेशका तेस्रो खेलाडी हुन्। यसअघि नै बंगलादेशका अरिफुल इस्लाम र अकवर अली कर्णालीको टोलीमा समावेश भइसकेका छन्।

२१ वर्षीय ब्याटिङ अलराउन्डर जिशनले बंगलादेशको यु-१९ तथा ‘ए’ टोलीबाट प्रतिनिधित्व गरिसकेका छन्। त्यसैगरी उनले बंगलादेशी फ्रेन्चाइज टोलीहरू राजशाही वारिअर्स र दुरबार राजशाहीबाट पनि खेलिसकेका छन्। जिशनले लिस्ट ‘ए’ का ४९ खेलमा १ हजार २९५ रन बनाएका छन् भने २७ टी-२० खेलमा ५ सय ७१ रन जोडेका छन्।

यसै वर्ष अस्ट्रेलियामा भएको टप एण्ड टी-२० शृंखलामा जिशनले नेपालविरुद्ध सानदार प्रदर्शन गरेका थिए। बंगलादेशले ९ विकेटको जित निकाल्दा उनले २९ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अविजित ५२ रन बनाएका थिए। सोही खेलमा कर्णाली याक्सबाटै खेलिरहेका अरिफुल इस्लामले पनि ३४ रन जोडेका थिए।

कर्णाली याक्सले सोमबार प्रतियोगिताको आफ्नो तेस्रो खेलमा काठमाडौं गोर्खाजको सामना गर्दैछ, जसमा जिशन टोलीका लागि उपलब्ध रहनेछन्। प्रतियोगितामा कर्णालीले पहिलो दुवै खेल जित्दै बलियो उपस्थिति जनाइसकेको छ। उसले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *